• २० असार २०८२, शुक्रबार

इजरायली आक्रमणमा १५ जनाको मृत्यु

blog

गाजा सिटी, असार २० गते । गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार प्यालेस्टिनी क्षेत्रमा लगभग २१ महिनाको युद्धपछि इजरायली हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको बताएको छ । इजरायलले हालै गाजा पट्टीमा आफ्नो सैन्य कारबाही विस्तार गरेको छ । त्यहाँ युद्धले यस क्षेत्रको २० लाखभन्दा बढी जनसङ्ख्याका लागि गम्भीर मानवीय अवस्था सिर्जना गरेको छ ।

दक्षिणी गाजा सहर खान युनिस नजिकै विस्थापित मानिसहरूको शिविरमा भएको इजरायली हवाई आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघायरले बताउनुभयो । उहाँले खान युनिसको तटमा रहेको पाल शिविरहरूमा दुई अन्य आक्रमणमा थप आठ जनाको मृत्यु भएको बताउनुभयो । 

उक्त आक्रमणमा शुक्रबार बिहान दुई बालबालिकाको मृत्यु भएको थियो । प्यालेस्टिनी लडाकू समूह हमासले बिहीबार मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि नयाँ प्रस्तावहरूबारे छलफल गरिरहेको बताए पनि इजरायली नेताहरू हमासलाई दमन गर्ने आफ्नो लक्ष्यमा अडिग छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले हमाससँग ६० दिनको युद्धविराममा सहमति जनाएको भन्दै गाजामा बाँकी रहेका बन्धकहरूलाई रिहा गर्नसक्ने बताउनुभएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बाँकी बन्दीलाई फिर्ता गर्न ठूलो आन्तरिक दबाबमा पर्नुभएको छ । रासस/एएफपी