छिन्चु समाचारदाता
सुर्खेत, असार १९ गते । कर्णाली प्रदेश सरकारले प्रदेशभरका १० वटै जिल्लाबाट छनोट गरिएका ३० जना उत्कृष्ट शिक्षकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शिक्षा विकास निर्देशनालयको आयोजनामा सम्पन्न ‘उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम’ अन्तर्गत शिक्षण क्षेत्रमा विशेष योगदान पुर्याउने शिक्षकलाई सम्मान गरिएको हो ।
मङ्गलबार एक विशेष कार्यक्रमका बिच कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उहाँहरूलाई पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । उहाँले कर्णालीको शैक्षिक भविष्य शिक्षकको लगनशीलता, इमानदारिता र समर्पणमा निर्भर रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो सम्मान शिक्षकको मेहनतको कदर मात्र होइन, शिक्षाको स्तर उकास्न थप उत्प्रेरणा पनि हो । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ ।”
शिक्षा विकास निर्देशनालयका अनुसार, शिक्षक छनोटका लागि विशेष मापदण्ड तय गरिएको थियो । प्रत्येक जिल्लाबाट प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी तीन जना शिक्षक छनोट गरिएको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले जानकारी दिनुभयो । लैङ्गिक समावेशीतालाई ध्यानमा राख्दै प्रत्येक जिल्लाबाट अनिवार्य रूपमा कम्तीमा एक जना महिला शिक्षकको सहभागिता सुनिश्चित गरिएको थियो ।