पहलगाम (भारत), असार १९ गते । हिन्दूहरूले बिहीबार विवादित भारतीय काश्मीरमा एक महिना लामो विशाल तीर्थयात्रा सुरु गरेका छन् । धेरै श्रद्धालुहरू अप्रिलको घातक आक्रमणले पाकिस्तानसँग द्वन्द्व निम्त्याएको ठाउँ नजिकैबाट यात्रा सुरु गरेका छन् ।
गत वर्ष पहलगाम सहरको माथिको जङ्गलले घेरिएको हिमाली पहाडको गुफामा अवस्थित पवित्र बरफ स्तम्भको अमरनाथ तीर्थयात्रामा पाँच लाख भक्तजनले भाग लिएका थिए । पहलगाम त्यो स्थल हो जहाँ २२ अप्रिलमा बन्दुकधारीहरूले २६ जना हिन्दू पर्यटकको हत्या गरेका थिए । नयाँदिल्लीले बन्दुकधारीहरूलाई पाकिस्तानको समर्थन रहेको बताएको थियो भने इस्लामाबादले उक्त दाबीलाई अस्वीकार गरेको थियो ।
बन्दुकधारीको उक्त आक्रमणले परस्पर कूटनीतिक उपायहरूको शृङ्खला सुरु गर्यो र यो चार दिनको द्वन्द्वमा परिणत भयो । सन् १९९९ पछि आणविक–सशस्त्र यी दुई मुलुकले गरेको यो सबैभन्दा खराब गतिरोध थियो । मे १० को युद्धविरामअघि दुवै पक्षमा मिसाइल, ड्रोन र तोप आक्रमणमा ७० भन्दा बढी मानिस मारिएका थिए । तर उत्तर प्रदेश राज्यबाट यात्रा गरेका तीर्थयात्री मुनेश्वर दास शास्त्रीले भन्नुभयो, “कुनै पनि प्रकारको डर छैन, हाम्रो सेनाले जताततै पहरा दिइरहेको छ । कसैले पनि हामीतिर औँला उठाउन सक्दैन ।”
भारतले यस कार्यक्रमका लागि सुरक्षा बढाएको छ । हिन्दू धर्मका संहारकर्ता देवता शिवलाई समर्पित उच्च उचाइको गुफामा पुग्ने कठिन यात्राको निरीक्षण गर्न उच्च प्रविधिको निगरानी उपकरणहरूसहित ४५ हजार सेना तैनाथ गरिएको छ । “तीर्थयात्रीहरूलाई सुरक्षित र सहज बनाउन हामीसँग बहुस्तरीय र गहिरो सुरक्षा व्यवस्था छ”, मुस्लिम बहुल क्षेत्रका प्रहरी प्रमुख भीके बर्डीले भन्नुभयो ।
-डर छैन-
पहलगाममा सैनिकहरूले टेन्ट गरिएको आधार शिविरलाई रेजर तारले घेरिएको किल्लामा परिणत गरेका छन् । भर्खरै तैनाथ गरिएका सशस्त्र गाडीहरूमा वा बालुवाको बोराहरू पछाडिको बन्दुकको स्थितिबाट सेनाहरूले नजिकबाट अनुहार पहिचान क्यामेराहरूले सहयोग गरेका प्रयासमार्फत निगरानी राख्छन् ।
जम्मू काश्मीरका भारतीय नियुक्त शीर्ष प्रशासक मनोज सिन्हाले भन्नुभयो, “मार्गका सबै मुख्य विन्दुमा उच्च गुणस्तरका निगरानी क्यामेराहरू स्थापना गरिएको छ ।” सबै तीर्थयात्रीहरू दर्ता भएका हुनुपर्छ र हिँड्न सुरु नगरेसम्म संरक्षित गाडीमा यात्रा गर्नुपर्छ । बाटोको जङ्गलमा लुकेका बङ्करहरू निर्माण गरिएका छन्, जहाँ दर्जनौँ अस्थायी भान्साघरहरूले निःशुल्क खाना प्रदान गर्छन् ।
इलेक्ट्रोनिक रेडियो कार्डहरूले तिनीहरूको स्थान सङ्केत गर्छन् । तीर्थयात्रीहरूलाई अन्तिम सजिलो मोटरेबल ट्र्याकबाट लगभग ३० किलोमिटर ९१८ माइल (माथि तीन हजार नौ सय मिटर ९१२ हजार आठ फिट) उचाइमा अवस्थित गुफामा पुग्न धेरै दिन लाग्न सक्छ । “यहाँ जे पनि आक्रमण भयो, म डराएको छैन । म बाबा (बरफको संरचना) को एक झलक लिन आएको हुँ”, भारतको उत्तर प्रदेश राज्यका २९ वर्षीय उज्ज्वल यादवले मन्दिरको पहिलो तीर्थयात्रा गर्दै भन्नुभयो, “यहाँ यस्तो सुरक्षा व्यवस्था छ कि कसैलाई चोट लाग्न सक्दैन ।”
सिन्हाले ‘जनताको विश्वास फर्किँदैछ’ भन्नुभए पनि यस वर्ष तीर्थयात्री दर्ता १० प्रतिशतले घटेको स्वीकार गर्नुभयो । एक समय सामान्य, अल्पज्ञात अनुष्ठान, मुख्यतः स्थानीय केही हजार भक्तजनले मात्र सहभागिता देखाउँथे । यो तीर्थयात्रा सन् १९८९ मा सशस्त्र विद्रोह सुरु भएदेखि बढेको छ । त्यस बेलादेखि भारत सरकारले अगस्ट ९ सम्म चल्ने यो वार्षिक कार्यक्रमलाई धेरै बढावा दिएको छ ।
काश्मीरमा भारतको नियन्त्रणविरुद्ध लड्ने विद्रोहीहरूले तीर्थयात्रा लक्ष्य नभएको बताएका छन् । यद्यपि उनीहरूले यदि यो हिन्दू प्रभुत्व स्थापना गर्न प्रयोग गरियो भने कारबाही गर्ने चेतावनी दिएका छन् । सन् २०१७ मा सन्दिग्ध विद्रोहीहरूले तीर्थयात्री बसमा आक्रमण गरी ११ जनाको ज्यान लिएका थिए । भारतको स्थायी रूपमा पाँच लाख सैनिक तैनाथ रहेको काश्मीरमा सुरक्षा बलले खोजी गरे तापनि अप्रिल २२ को हत्या गर्ने बन्दुकधारीहरू फरार छन् ।
जुन २२ मा भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीले पहलगाम क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको बताएको थियो । उनीहरूले बन्दुकधारीहरूलाई ‘खाना, आश्रय र रसद सहयोग प्रदान गरेको’ बताएका थिए । भारतीय प्रहरीले तीन बन्दुकधारीका लागि वाञ्छित सूचना जारी गरेको छ । तीमध्ये दुई जना पाकिस्तानी नागरिक भएको उनीहरूले बताएका छन् । रासस/एएफपी