• १९ असार २०८२, बिहिबार

चीन र इयुले ‘टकराव खोज्नु हुँदैन’ : विदेशमन्त्री वाङ

blog

चीनका विदेशमन्त्री वाङ यी ।

ब्रसेल्स, असार १९ गते । चीनका विदेशमन्त्री वाङ यीले आफ्ना युरोपेली सङ्घ (इयु) समकक्षीलाई ‘टकराव’ विरुद्ध चेतावनी दिनुभएको छ । विदेश मन्त्रालयले बिहीबार बेइजिङलाई युरोपको सुरक्षालाई कमजोर पार्न रोक्न आग्रह गरेपछि उहाँको यस्तो भनाइ आएको हो ।

चिनियाँ विदेश मन्त्रालयको विज्ञप्ति अनुसार बुधबार ब्रसेल्समा काजा कालासलाई भेट्दै विदेशमन्त्री यीले चीन र इयुलाई ‘मतभेदका कारण विपक्षीका रूपमा मान्न नहुने, न त उनीहरूले असहमतिका कारण टकराव खोज्नु पर्ने’ बताउनुभयो । युरोपले विभिन्न चुनौतीको सामना गरिरहेको छ भन्दै उहाँले तर कुनै पनि ‘विगत, वर्तमान वा भविष्यमा’ चीनले गर्दा नभएको जोड दिनुभयो ।

उहाँहरूको बैठकअघि इयुको विदेश मामिला प्रमुख कालासले चीन ‘हाम्रो विरोधी होइन, तर सुरक्षामा हाम्रो सम्बन्ध बढ्दो तनावमा रहेको’ बताउनुभयो । उहाँले चिनियाँ कम्पनीहरू ‘युक्रेन विरुद्धको युद्धलाई निरन्तरता दिन मस्कोको जीवनरेखा’ भएको बताउनुभयो । उहाँले बेइजिङले साइबर आक्रमण, लोकतान्त्रिक हस्तक्षेप र अनुचित व्यापार अभ्यासहरू गरेको आरोप लगाउँदै यसले ‘युरोपेली सुरक्षा र रोजगारीलाई हानि पुर्याउँछ’ भन्नुभयो ।

युक्रेनसँगको रुसको तीन वर्षभन्दा लामो युद्धमा चीनले आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गरेको छ । तर पश्चिमी सरकारहरूले बेइजिङले मस्कोलाई महत्वपूर्ण आर्थिक र कूटनीतिक समर्थन दिएको बताउँछन् । “युरोपसँग नजिकको सम्बन्ध खोज्दै युरोपमा युद्धलाई सक्षम पार्नु भनेको एक विरोधाभास हो जसलाई बेइजिङले सम्बोधन गर्नुपर्छ”, कालासले बुधबार भन्नुभयो ।

यसैबिच विदेशमन्त्री वाङले महाशक्ति प्रतिद्वन्द्वी वासिङ्टनविरुद्ध बेइजिङलाई एक स्थिर सन्तुलन कर्ताका रूपमा चित्रण गर्न खोज्नुभयो । वासिङ्टनले युरोपेली राष्ट्रहरूबाट आयातमा व्यापक भन्सार शुल्क लगाउने धम्की दिएको छ । “अमेरिकाले लिएको बाटो चीनको प्रतिबिम्बका रूपमा प्रयोग गरिनु हुँदैन”, उहाँले भन्नुभयो, “चीन अमेरिका होइन ।” बेइजिङको विदेश मन्त्रालयले पनि दुई पक्षले युक्रेन, इजरायल र प्यालेस्टिनबिचको द्वन्द्व र इरानको आणविक मुद्दाबारे छलफल गरेको बताएको छ ।

“बेइजिङ र ब्रसेल्सले एकअर्कालाई ‘सम्मान’ का साथ व्यवहार गर्नुपर्छ”, वाङले भन्नुभयो, “युरोपले अझ बढी ‘सक्रिय र व्यावहारिक’ चीन नीति अपनाउनुपर्छ ।” वाङले बुधबार युरोपेली आयोगकी प्रमुख उर्सुला भन डेर लेयन र उहाँका बेल्जियमका समकक्षी म्याक्सिम प्रिभोटसँग पनि भेट गर्नुभयो ।

“चीन र इयुले बहुपक्षवाद र स्वतन्त्र व्यापारलाई समर्थन गर्नुपर्दछ... र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सँगै मिलेर काम गर्नुपर्दछ”, वाङले भन डेर लेयनलाई भन्नुभयो । वाङले अब जर्मनीको यात्रा गर्नुहुनेछ । जर्मनीमा उहाँले कूटनीति र सुरक्षासम्बन्धी विषयमा विदेशमन्त्री जोहान वाडेफुलसँग वार्ता गर्नुहुनेछ ।

त्यसैगरी फ्रान्समा, वाङले मार्चमा चीन भ्रमण गरेका युरोप र विदेश मामिला मन्त्री जिन-नोएल बारोटसँग भेट गर्नुहुनेछ । बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र इयुका शीर्ष अधिकारीहरूबिचको शिखर सम्मेलन हुनुभन्दा करिब तीन हप्ता अगाडि यी भ्रमणहरू भएका हुन् । रासस/एएफपी