• १८ असार २०८२, बुधबार

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

blog

राजु लामिछाने
रुकुमपश्चिम, असार १८ गते ।
रुकुमपश्चिममा एक पुरुषले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्  । जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँ निवासी ३२ वर्षका चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार गए राति चन्द्रबहादुरले धारिलो हतियार (खुकुरी) घाँटिमा प्रहार गरी देविको हत्या गरेका छन् ।

उक्त घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा गएको प्रहरी टोलीले खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल गएको छ ।

हत्याका कारण भने खुल्न सकेको छैन । स्थानीयका अनुसार पटक पटक घरमा उनीहरु बिच झगडा हुँदै आएको थियो । गएराति पनि झगडा भइरहेको बेला एक्कासी खुकुरी निकालेर श्रीमतीमाथि प्रहार गरेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।