• १६ असार २०८२, सोमबार

सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि सहायक हवल्दारसम्म दुई हजारको बढुवा

blog

काठमाडौँ, असार १६ गते । करिब एक महिनाको बिचमा सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म दुई हजार एक सय ९६ जनाको बढुवा गरेको छ ।

बढुवा हुनेमा सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकमा ११ जना, नायब निरीक्षकमा ३४ जना, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायब निरीक्षक ६ जना रहेको सशस्त्र प्रहरीका  डिएसपी एवमु सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।  

उहाँका अनुसार सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएका हुन् ।

मुख्यालयले बढुवा हुनका लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक र सशस्त्र प्रहरी नायब निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायब निरीक्षकमा बढुवा हुनका लागि १० दिनभित्र बढुवा फाराम भर्न भनिएको थियो ।

त्यसैगरी, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनका लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको हो ।

बढुवा मूल्याङ्कन फारामको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको थियो । खाली रहेका अन्य दर्जामा समेत तत्कालै बढुवा प्रक्रिया सुरु हुनेछन् ।