रमेश विश्वर्मा
गुल्मी, असार १६ गते । गुल्मीको धुर्कोट गाउँपालिका–१, नयाँगाउँलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।सबै प्रक्रियागत सूचक र चरण पूरा गरेको हुँदा यस वडालाई जिल्लामै पहिलो पटक एक औपचारिक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो ।
त्यसअवसरमा समन्वय प्रमुख खत्रीले स्थानीय सरकार र समन्वय समितिको उद्देश्य बालबालिकाका अधिकारको संरक्षण र उनीहरूको विकासमा सकारात्मक प्रभाव पार्ने रहेको बाउनुभयो । उहाँले घोषणाले अन्य वडाहरूसँगको तुलना र सहयोग पनि सिर्जना गर्ने हुँदा जिल्लामा बालमैत्री वातावरणको सिर्जनामा थप सहयोग पुर्याउने बताउनुभयो ।
पूर्वाधार विकासले मात्र मानव विकास सम्भव नहुने भन्दै शिक्षा, स्वास्थ्य तथा बालमैत्री कार्यक्रमहरूमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बालमैत्री स्थानीय शासन लागु गर्नु चुनौतीपूर्ण काम भए पनि पालिकाले यस अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश तथा संघ सरकारले शिक्षामा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै अहिलेको लगानी पर्याप्त नरहेको टिप्पणी गर्नुभयो । अध्यक्ष पोख्रेलले गाउँपालिकाको तर्फबाट वडा कार्यालयलाई एक लाख रुपियाँ नगदसहित सम्मान गर्नुभयो ।
वडा कार्यालयले ५१ वटा आवश्यक सूचकहरू पुरा गरेपछि मात्र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता गिरी र शिक्षा समन्वय एकाइ प्रमुख थानेश्वर घिमिरेले वडाको यो उपलब्धि निकै सराहनीय भएको बताउनुभयो ।
सबैको निरन्तर मेहनत र प्रयासले जिल्लामा ९३ वडाहरूमा धुर्कोटको नयाँगाउँ पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सफल बनेको भन्दै यो सबैका लागि खुसीको खबर भएको वडाध्यक्ष चेतमान कुँवरले बताउनुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीद्वारा गीत, नाटक एवम् नृत्यहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका विभिन्न वडाका वडाध्यक्षहरू सहितका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, स्वास्थ्यकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा संघ संस्थाहरूलाई पनि सम्मान गरिएको छ ।