• १६ असार २०८२, सोमबार

एक स्वास्थ्य साहित्य

blog

बिपी कोइराला समाजवादी सिद्धान्त र दर्शनलाई व्यावहारिक रूपले व्यक्ति र समाजको जीवनसँग आबद्ध गर्नु पर्छ भन्ने पक्षमा वकालत गर्ने नेता भएकाले उनका स्वास्थ्यसम्बन्धी धारणा पनि यसैको सेरोफेरोभित्र हेर्नुपर्ने हुन्छ । समाजवाद भन्नेबित्तिकै कुनै खास समाजका यावत् समस्याबारे खास खास धारणा, सिद्धान्त र नीति होलान् भन्ने कल्पना हुन्छ । त्यसैले बिपीका स्वास्थ्यसम्बन्धी विचारमा समाजवादी सोचको नै प्रभाव थियो भन्न सकिन्छ ।

बिपी कोइरालाको एउटा आफ्नै किसिमको दृष्टान्तयोग्य जीवनशैली पनि थियो । व्यवहारमा शालीनता, पहिरनमा सरसफाइ र बोलीमा मिठासले गर्दा बिपी आफ्ना कतिपय कटु आलोचकको मनमा पनि राम्रो प्रभाव छोड्न सक्ने व्यक्तित्व थिए । 

पृष्ठ ३१ 

मनमोहन अधिकारी त झन् उच्च कोटिका राजनीतिक व्यक्तित्व नै थिए । नेपालको सन्दर्भमा राजनीतिका कहालीलाग्दा मोडहरू पार गर्दै जाने क्रममा आफूले अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी प्राविधिक सुखको सतर्कतापूर्ण अभ्यासतिरभन्दा वैचारिक आदर्शसहितको जीवनशैली र व्यवहारमा नै उनको अभिरुचि थियो । स्वास्थ्य आदर्श पनि यही नै हो उनको ।

मूलतः विसं २०१७ को राजनीतिक उथलपुथलपछि काठमाडौँको नक्खु जेलमा रहँदा त्यहाँ रहेका राजबन्दीको बिग्रँदो स्वास्थ्यप्रति गम्भीर भएर मनमोहनले बोलेका स्वास्थ्यसम्बन्धी विचार निकै महत्त्वपूर्ण छन् । जीवन भावुकताले मात्र चल्दैन, व्यावहारिक भएर अगाडि बढ्न जान्नु पर्छ भनेर जेलमा सबैको हौसला बढाउँथे उनी । 

पृष्ठ ६७ 

टाल्सटोय सुरुदेखि नै आफ्ना राम्रा र नराम्रा सबै कामलाई मथ्ने र त्यसबाट पाठ सिक्न अग्रसर हुने व्यक्ति थिए भन्न सकिन्छ । बिस्तारै बिस्तारै साहित्यिक रूपले संवेदनशील हुँदै जानु, त्यागी र स्वावलम्बी जीवन अपनाउन सक्षम हुनु र दार्शनिक चिन्तनको रसमा आनन्दित हुँदै जाने गुणहरू विकसित हुनु सायद यही कुराको प्रमाण थियो ।

टाल्सटोय सम्भ्रान्त परिवारमा जन्मेका व्यक्ति थिए । त्यसैले उग्र उपभोग एक प्रकारले उनको जन्मसिद्ध अधिकारभित्रकै कुरा थियो त्यसबेला । उनले कुनै पश्चात्ताप नै नगरी विलासी जीवन बिताइरहे पनि हुन्थ्यो तर उनको जीवनीले बताउँछ, हरेक खराब कामपछि टाल्सटोयको मनभित्र पश्चात्तापको ज्वाला दन्किन्थ्यो ।

पृष्ठ ९० 

वास्तवमा आज विपश्यना ध्यानका आचार्य भनेर सबैले चिनेका गोयन्का कुनै बेला एक व्यापारी थिए । उनी बर्मामै जन्मिए, त्यहीँ हुर्किए र त्यहीँ उनको व्यापार फस्टाएर गएको थियो । टेक्सटायल क्षेत्रमा संलग्न उनलाई एक सफल व्यवसायीका रूपमा सबैले चिन्थे । अर्को कुरा गोयन्कामा परोपकारका निम्ति स्थापित सङ्गठनप्रतिको रुचि पनि त्यत्तिकै थियो त्यसबेला । 

यहाँ बुझ्ने कुरा के छ भने सत्यनारायण गोयन्का व्यापारी हुँदा पनि केवल त्यही क्षेत्रमा मात्र सीमित थिएनन् उनीभित्र समाज सेवाको चेतना पनि त्यत्तिकै जागरुक थियो तर पनि गोयन्काको पृष्ठभूमि हेर्दा उनी विपश्यना ध्यानलाई नै जीवनको मूल लक्ष्य बनाएर समस्त मानव जातिकै दुःख र पीडा मोचन गर्नका निम्ति मन, वचन र कर्मले समर्पित होलान् भनेर ठोकुवा गर्न भने सकिन्न ।

पृष्ठ १३२ 

आरोग्यद्रष्ट्य साक्षात् ईश्वर स्वरूप महामुनि चरकलाई चाहिएको उत्तर पनि यही नै थियो । अरू सारा वैद्यको उत्तरबाट सन्तुष्ट नभए पनि वाग्भट्टले दिएको जवाफबाट भने उनी सन्तुष्ट भए । भनाइको अर्थ निरोगी हुनु वा मानिनुको परिभाषा बुझाउन नै महामुनि चरकले यति ठूलो परीक्षा लिनुप¥यो तर परीक्षा ठूलो भए पनि आरोग्यको परिभाषा चाहिँ कति सरल रहेछ ।

भोजन केवल भोजन मात्र होइन । यो जीवन नै हो । स्वास्थ्यको वास्तविक सम्बल भोजन नै हो । भोजन जुटाउने तरिका, भोजन ग्रहण गर्ने तरिका र भोजनमा रम्ने र रमाउने तरिकालाई खाली भोजन मात्र भन्न सकिन्न, कला, दृष्टिकोण र दर्शन पनि हो यो । जीवन दर्शन र भोजन दर्शनबीच रहेको गुणात्मक र मात्रात्मक सुसम्बन्धलाई बुझ्नु शरीर विज्ञान र शरीर दर्शन दुवै बुझ्नु हो । 

पृष्ठ १६१   

–युवामञ्च