• १६ असार २०८२, सोमबार

‘गतिरोध हटाउन वार्ता गर्नुपर्छ’

blog

पत्रकार भेटघाटका अवसरमा कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ।

नारायणगढ समाचारदाता 

नारायणगढ, असार १६ गते  । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संसद्को गितिरोध हटाउन सरकारले प्रतिपक्षी दलहरूसँग संवाद अगाडि बढाउनुपर्ने बताउनुभएको छ । 

भरतपुर विमानस्थलमा आइतबार पत्रकारसँग कुराकानी गर्दै उहाँले संसदीय अभ्यास गरिरहेका मुलुकको विश्वव्यापी मान्यता नै विपक्षीलाई सँगसँगै लिएर हिँड्नु रहेकाले सरकारले असन्तुष्ट दलहरूसँग वार्ता गर्नुपर्ने बताउनुभएको हो । “विपक्षी दलहरूको माग पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउनुपर्ने छ, त्यसमा बसेर छलफल गरी निकास निकाल्नु पर्‍यो,” उहाँले भन्नुभयो, “सरकारकै कुरा मानिरहनुपर्छ भन्ने पनि छैन । विपक्षीलाई साथ लिएर जान पनि सक्नुपर्छ । माओवादीलाई साथ लिन सक्नुभयो भने रास्वपा र राप्रापालाई पनि साथ लिन किन नसक्नु ? ससदीय व्यवस्था नै यस्तै व्यवस्था हो ।” भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न सरकारले समिति बनाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले एउटा कमिटी बनाएको छ । अख्तियारको छानबिनलाई नछोइकन त्यसले राम्रो काम गर्न सकोस् भन्ने हो तर त्यसलाई रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वीकार गरिसकेको अवस्था छैन । सरकारले बसेर कुरा गर्नु पर्‍यो ।”

नेता डा. कोइरालाले कांग्रेसको महाधिवेशन सम्बन्धमा कुरा गर्दै विसं २०८३ मङ्सिरमा गर्नुपर्नेमा जोड दिनुभयो । “२०८३ मङ्सिरमा चुनाव हुनु पर्छ तर पदाधिकारीबाट सव्रिmयता देखिएको छैन । अधिवेशनको मुखमा कहाँ के हुन्छ भन्ने कुरा थाहा छैन,” उहाँको स्पष्ट भनाइ थियो, “गगनजी त मेरै समूहको हुनुहुन्छ । सभापतिजी र साथीको समर्थनमा म सभापति हुने छु  । सकिएन भने सकिएन, आफूले कोसिस गर्ने हो । मलाई चिन्ता छैन, बरु तपाईंहरूलाई चिन्ता होला ।” महामन्त्री गगन थापाको पनि सभापतिमा दाबी छ भनी सोधिएको प्रश्नमा नेता कोइरालाले उहाँ र मेरो टिम एउटै भएकाले चिन्ता गर्नुपर्ने विषय नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सभापति उठ्न १५ वर्ष पार्टी सदस्य र महासमिति सदस्य भएको हुनुपर्ने भनेको छ । त्यो भए त सबैलाई बाटो खुल्छ । अरू कुरामा तपाईंहरू चिन्ता नलिनुस् ।”

“पार्टीभित्र को कहाँ हुने भन्ने कुरा पनि अहिल्यै टुङ्गिन गाह्रो हुन्छ । कृष्ण सिटौलाजी हिजो कोसँग हुनुहुन्थ्यो, अहिले कहाँ हुनुहुन्छ, त्यो त थाहै छ,” उहाँले भन्नुभयो, “महाधिवेशनमा गएपछि को कहाँ हुन्छ भन्ने कसैलाई थाहा हुँदैन । सभापतिले धाप मारेरै हुने भए हिजो रामचन्द्र पौडेलजी पनि त पार्टी सभापति हुनुहुन्थ्यो होला नि ।” डा. कोइरालाले आइतबारै समाजसेवी एवं कांग्रेस नेतृ गौरीदेवी प्रधानको निवासमा पुगेर दिवङ्गत प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरी परिवारमा समवेदना प्रकट गर्नुभएको थियो ।