• ५ जेठ २०८१, शनिबार

नेपाल–बेलायत श्रम सम्झौता स्वीकृत

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार ३ गते । सरकारले बेलायत सरकारसँग दुईपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिनुभएको हो । 

मन्त्रिपरिषद्ले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने ३६ करोड ६२ लाख रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्री कार्कीका अनुसार सरकारी जग्गा दर्ता तथा लिज उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७८ स्वीकृत गर्ने, सरकारी सम्पत्ति तथा निजी जिन्सी मालसामान बिक्री तथा मिनाहासम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने र उपचार खर्च, राहत तथा बाल आर्थिक सहायतासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरिएको छ भने यसअघिका समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरिएको जानकारी मन्त्री कार्कीले जानकारी दिनुुभयो । 

त्यसैगरी बैठकले एपीजी (एसिया प्यासिफिक ग्रुुप अफ मनि लर्निङ)को मलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागिताका लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटालाई पठाउने निर्णय गरेको छ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाललाई रातमाटे सबस्टेसन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । 

स्विट्जरल्यान्डमा आयोजना हुने कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृति दिने र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय भएको जानकारी मन्त्री कार्कीले दिनुुभयो ।दक्षिण कोरियाको सिओलमा आयोजना हुने विश्व पर्यटन उद्योग सम्मेलनमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने निर्णय गरिएको छ । 

मेक्सिकोमा सञ्चालन हुने सूचना आयुक्तहरूको अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ । 

थाइल्यान्ड र भियतनाममा हुने कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद पोखरेललाई स्वीकृत दिने र २०७९ असार ६ गते भर्चुअल माध्यमबाट हुने नेपाल–भुटान दुईपक्षीय व्यापार वार्तामा नेपालको तर्फबाट भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ । 

बैठकले नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर र द ब्रिगेड अफ गोर्खाजका भूतपूर्व सैनिक धर्मराज तामाङ, वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिस इम्पायर मेडल पदक ग्रहण गर्न स्वीकृति दिने पनि निर्णय भएको छ । 

सरकारका प्रवक्ता कार्कीले दिनुुभएको जानकारीअनुसार बैठकले नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यमध्येबाट प्रा. सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाका लागि एक तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।