महोत्तरी समाचारदाता
महोत्तरी, असार १३ गते । मधेश प्रदेशमा रहेको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालको अनुगमन गरेको छ ।
मधेश प्रदेशका सात सांसदसहित विभिन्न गैरसरकारी संस्थाका पदाधिकारीहरूले अनुगमन गरेका हुन् । स्वास्थ्य सेवासम्बन्धी संसदीय निगरानी नामकरण गरिएको सो अनुगमनमा महिला बालबालिका तथा सामाजिक न्याय समितिका अध्यक्ष प्रदेश सभा सदस्य रूपाकुमारी यादव, अमिताकुमारी साह, कुमरकान्त झा, शारदा थापा, अञ्जना पण्डित, किरण कुमारी, हसिना खातुन, भाग्यश्री कुमारी चौधरीलगायतका रहनुभएको थियो ।
अस्पताल अनुगमनपछि महिला, बालबालिका तथा सामाजिक न्याय समितिका अध्यक्ष रूपाकुमारी यादवले प्रादेशिक अस्पतालमा केही सुधार हुँदै गएको बताउनुभयो । उहाँले विगतमा गरिएको अनुगमनको प्रभावस्वरूप अहिले अस्पतालको सरसफाइलगायतका क्षेत्रमा सुधार देखिएको जानकारी दिनुभयो ।
प्रदेशमा रहेको सरकारी अस्पतालको अवस्था र निगरानी निरन्तर भइरहने बताउनुभयो । अध्यक्ष यादवले अनुगमनपछि उक्त टोलीले प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई बुझाउने जानकारी गराउनुभयो ।
प्रादेशिक अस्पताल जलेश्वर सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष मिन्नु झाले यस अस्पतालमा जनशक्ति अभाव, साधनस्रोत अभावबारे समितिलाई जानकारी गराउनुभयो । उहाँले यस वर्षको बजेटमा संशोधन गर्ने भए यस आर्थिक वर्षमा नभए अर्को आवमा अस्पतालको सुदृढीकरणका लागि बजेट राखिदिन आग्रह गर्नुभयो ।
प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा. विकासकुमार साहले जनशक्ति तथा आर्थिक सङ्कटका कारण अस्पतालको सेवा विस्तारमा समस्या भइरहेको जानकारी गराउनुभयो ।
फार्मेसीमा औषधी अभाव, अस्पतालमा थप सेवा विस्तार, डायलासिस सञ्चालन, आइसियु सेवा सञ्चालनलगायतका सेवामा जनशक्ति तथा आर्थिक समस्या रहेको गुनासो गर्नुभयो । उहाँले विद्युत्, खानेपानीलगायतका विविध क्षेत्रमा लाखौँ रुपियाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुभयो ।
अस्पतालको प्रशासनिक भवन निर्माण बजेटका कारण रोकिएको बताउँदै त्यसलाई पूर्णता दिन मधेश सरकारलाई ध्यानाकर्षण गराउन आग्रहसमेत गर्नुभयो । मधेश सरकारले सय श-याको अस्पतालमा स्तरोन्नति गरे पनि सोही अनुसारको जनशक्ति उपलब्ध गराउन नसकेको बताउँदै जनशक्ति नै नभएका कारण गुणस्तरीय सेवा दिन कठिनाइ भइरहेको बताउनुभयो ।
कार्यव्रmममा नागरिक समाजका जितेन्द्र सिंहले दुई महिनाअगाडि नै यस्तो निगरानी कार्यक्रम गरेको भए निगरानी र अनुगमनको अर्थ हुने दाबी गर्दै सरकारलाई यस अस्पतालको स्तरोन्नति तथा सुदृढीकरणमा ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो । देश सङ्घीयतामा गइसकेको छ तर औषधी किन्ने अधिकार आपूर्तिलाई मात्रै ? यो राम्रो नभएको बताउँदै उहाँले औषधी किन्न बजेटको केही अंश अस्पतालको जिम्मेवारीमा दिनुपर्ने बताउनुभयो ।
कार्यव्रmममा जलेश्वर नगरपालिका–२ का वडाध्यक्ष वरुण दाहालसहित प्रदेश सभाका सदस्यहरूले मन्तव्य राख्नुभएको थियो । अधिकांश वक्ताले आइसियु, डायलासिस, एसएनसियुलगायतका सेवा सञ्चालनका लागि जनशक्ति उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।