• १३ असार २०८२, शुक्रबार

शम्भुनाथ नगरपालिकामा कानुन विपरित कार्यादेश र सम्झौता

blog

शम्भुनाथ नगरपालिका । तस्बिर विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), असार १३ गते ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा बजेट खर्च गर्न नियम कानुन विपरित वडाध्यक्षले कार्यादेश र सम्झौता गर्नुभएको खुलासा भएको छ ।

आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर वडा नम्बर २ का वडाध्यक्ष दुर्गानन्द भगतले बजेट खर्च गर्न नियम विपरित सम्झौता गर्दै कार्यादेश दिनुभएको खुलेको हो ।

ट्राफिक बजार युवा खेलकुद सञ्चालन समिति शम्भुनाथ २ को नाममा वडा समितिको मिति २०८१ असोज ६ गतेको बैठकको निर्णयानुसार असोज ७ मा अधारभुत विधालय कनकपट्टी ट्राफिक बजारको खेल मैदानमा तेस्रो पञ्च शिल्ड फूटवल प्रतियोगिता सञ्चालनका लागी एक लाख रुपियाँ भित्र रहि काम सम्पन्न गर्न वडाअध्यक्ष भगतको हस्ताक्षरमा दिइएको कार्यादेशमा उल्लेख छ ।

सोही मितिमा वडाअध्यक्ष भगतले खेलकुद सञ्चालन समिति अध्यक्ष सुनिलकुमार चौधरी संगको सम्झौतापत्रमा वडा कार्यालयको तर्फबाट हस्ताक्षर गर्नुभएको र २०८१ असोज २१ मा कार्य सम्पन्न भएको भन्दै भुक्तानीका लागि शम्भुनाथ नगरपालिकाको नाममा सिफारिसपत्र समेत दिनुभएको पाइएको हो ।

यसबारे वडाअध्यक्ष भगतसँग बुझ्दा उहाँले कार्यालयले सम्झौता गरेको बताउनुभयो । आर्थिक कारोवार नगरबाट हुने गरेको र व्यवस्थापन मिलाउने जिम्मेवारी आफूलाई दिएकाले काम गर्न भनेको उहाँको भनाइ छ ।

“कार्यादेश कार्यालयले दिन्छ, सम्पूर्ण कागज हेरेको छैन, त्यो समयमा के भएको हो ? भन्ने बारे जानकारी छैन’’ भगतले भन्नुभयो ।

शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले कुनै पनि योजनाको कार्यादेश वडाध्यक्षले दिन नमिल्ने बताउनुभयो ।

आर्थिक दायित्व सृजना हुने कुनै पनि सम्झौता कार्यादेश आर्थिक प्रति उत्तरदायी भएको बाहेक अरुले गर्न नमिल्ने भन्दै अहिलेसम्म पालिकाबाट त्यसको भुक्तानी नदिएको जानकारी उहाँले दिनुभयो । तर स्थानीयले भुक्तानी भनी भइसकेको उहाँको दाबी छ ।

यस्तै, वडाअध्यक्ष भगतले दैनिक ज्यालादारीमा कार्यालय सहयोगी नियुक्त गरेको सम्झौतापत्र पनि फेला परेको छ ।

नगर कार्यपालिकाको कार्यालयको तर्फबाट २०८१ असोज ११ गते सोही नगरपालिका वडा नम्बर २ घर भएका महेन्द्र कुमार चौधरीसँग शर्तसहितको कार्य सम्झौता गर्दै वडाध्यक्ष भगतले कर्मचारी नियुक्ति गरेको प्रमाण सार्वजनिक भएको हो ।

दैनिक ज्यालादारीमा काम गरे बापत दोस्रो पक्ष चौधरीले कार्यालयमा उपस्थित भई काम गरेको दिन मात्र दैनिक रुपमा ६६८ रुपियाँका दरले प्रथम पक्षरले भुक्तानी गर्ने शर्तमा कर्मचारी नियुक्त गरेको सम्झौतापत्रमा उल्लेख छ ।