वसन्त पराजुली
खोरसोर (चितवन), असार १३ गते । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रमा मङ्गलबार बिहान छुट्टै चहलपहल देखियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तसहित समाजका प्रतिष्ठित व्यक्ति, नेपाली सेनाका अधिकृत तथा जवानको बाक्लो उपस्थिति थियो ।
अगाडि रहेकी तीर्थमानकलीलाई नुहाइधुवाइ गराई तोरीको तेलमा ज्वानो, मेथी, लसुन, राखेर शरीरभर मालिस गरिएको देखिन्थ्यो । हात्तीलाई अबिर र फूलले पूजा गरिएको थियो । हात्तीअगाडि मिठा मिठा फलफूल तथा खिर दिइएको थियो ।
उक्त हात्तीसँगै उसको १२ दिनअघि जन्मिएको छावा यताउता गर्दै गरेको दृश्य लोभलाग्दो देखिन्थ्यो । तीर्थमानकलीले छावालाई सुँडले सुमसुम्याएर माया दर्शाउँदै छे । हात्तीसारसँगै दियो, कलश राखेर पूजा गरिँदै छ । पुजारीले पूजाकर्म पूरा गरेपछि निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. पन्तले उठेर फ्याट्ट बोल्नुभयो, “यो छावाको नाम विनम्रकली ।”
हात्ती प्रजनन केन्द्रमा हात्तीले बच्चा जन्माउनुलाई उत्सवका रूपमा लिने गर्छन् । हात्ती जन्मिएको १२ औँ दिनमा यसरी नै धार्मिक विधि अनुसार न्वारान गरिसकेपछि त्यसको नाम प्रमुख संरक्षण अधिकृतले राख्ने प्रचलन छ । त्यही प्रचलन अनुरूपै मङ्गलबार ‘विनम्रकली’ को नामकरण गरिएको हो । “हात्ती प्रजनन केन्द्रमा हात्ती जन्मनु धेरै खुसीको कुरा हो । यसको धार्मिक परम्परा अनुसार न्वारान गरेर नामकरण गरिन्छ,” डा. पन्तले थप्नुभयो, “नयाँ जन्मिएका छावालाई नामाङ्कन गर्ने अधिकारै प्रमुख संरक्षण अधिकृतमा छ । त्यही अधिकार प्रयोग गरी विनम्रकलीको नाम राखिएको हो ।”
चितवन राष्ट्रिय निकुञ्जस्थित हात्ती प्रजनन केन्द्रमा १२ दिनअघि जन्मिएकी विनम्रकली तीर्थमानकलीकी तेस्रो सन्तान हो । उसले यसअघि दुई छावा जन्माइसकेकी छे । तीर्थमानकलीसँग जङ्गली हात्ती ‘रोनाल्डो’ को सहवासबाट विनम्रकली जन्मिएकी हो । ‘ज्वाइँराजा’ को नाममा चिनिने ‘रोनाल्डो’ का प्रजनन केन्द्रमा ३५ वटा सन्तान जन्मिसकेका छन् । हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरी हात्तीको न्वारान गर्ने क्रम पहिल्यैदेखि भए पनि नामकरण गर्ने परिपाटी पछि फेरिएको बताउनुहुन्छ ।
पहिला राजदरबारबाट हात्तीको नामकरण राजपरिवारकै सदस्यको नाममा गर्ने चलन थियो । अहिले राजनीतिक व्यवस्था परिवर्तनसँगै हात्तीको नाम प्रमुख संरक्षण अधिकृतले गर्ने परिपाटी बसेको उहाँले जनाउनुभयो । अहिले राख्ने हात्तीका नाम कुनै दिनविशेष, घटनाविशेष वा सर्वसाधारणले राख्ने जस्तो नाम राख्न थालिएको छ ।
“पहिला हात्तीको नाम वीरेन्द्रगज, ऐश्वर्याकली, ज्ञानेन्द्रगज, कोमलकली, श्रुतिकली जस्ता राखिन्थे । अहिले गणतन्त्र आएपछि जन्मिएका हात्तीका नाम लोकतन्त्रकली, शेषचन्द्रगज, रमेशगज, खोरसोरकली, सिमसारगज राखिएका छन्,” उहाँले भन्नुभयो । मङ्गलबार न्वारान गरिएको हात्तीको छावाको नाम ‘विनम्रकली’ राख्नुमा पनि आफ्नै अर्थ छ । प्रमुख संरक्षण अधिकृत डा. पन्त भन्नुहुन्छ, “हात्ती र त्यसका सुसारे विनम्र हुने भएकाले नै छावाको नाम पनि विनम्रकली राखिएको हो ।”
प्रजनन केन्द्रका हात्ती सामान्य प्रसूतिबाटै बच्चा जन्माउने गर्छन् । विशेष परिस्थितिमा हात्तीको शल्यक्रिया गरेर पनि बच्चा जन्माइएको उदाहरण छ । तत्कालीन निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले शल्यक्रिया गरेर जन्माउनुभएका कारण उक्त छावाको नाम पनि ‘विजयगज’ राखिएको थियो । २०७९ फागुन २४ गते शल्यक्रियाबाट जन्मिएको त्यो छावा एक महिनापछि चैत २३ मा मरेको केन्द्रको विवरणमा उल्लेख छ ।
भारत, थाइल्यान्ड र म्यान्मारबाट २०४४ सालमा छ वटा भाले र १४ वटा पोथी हात्ती ल्याएर प्रजनन केन्द्र स्थापना गरिएको हो । केन्द्रका अनुसार प्रजनन केन्द्रमा रहेका ढोईलाई जङ्गली हात्तीको सहवासमा गर्भवती गराइन्छ । जङ्गली भाले हात्ती जो घरपालुवा हात्तीसँग सम्भोग गर्छ, त्यसलाई निकुञ्जमा ‘ज्वाइँराजा’ भनेर चिनिन्छ । चितवनमा यस्ता ज्वाइँराजा हात्ती नानापाटेघर, धु्रवे, गोविन्दे, रोनाल्डो, कृष्णे आदि छन् ।