रामकृष्ण बोहरा
बागलुङ, असार १२ गते । गण्डकी प्रदेश सरकारको समपुरक कोष र तमानखोला गाउँपालिकाको साझेदारीमा बोङगादोभानदेखि बोङखानीहुँदै ढोरपाटन जोड्ने सडकमा पर्ने वडा नं. २ बोङखानी घाटमा पुल निर्माण गरिएको छ । गत आर्थिक वर्ष काम सुरु भएको पुल निर्माण सकिएपछि बिहिबारदेखि सञ्चालनमा आएको हो ।
करिब ७९ लाख ८८ हजार रुपियाँको लागतमा निर्माण भएको ११ मिटरको पुल बनेपछि वर्षातमा पनि सवारी साधन सहज रुपमा चल्न सक्ने छन् । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बुधबार पुलको उद्घाटन गर्नुभयो । गत मङ्सिरमा काम सुरु भए पनि सात महिनामै पुल तयार भएको हो । पालिकाले ग्रामीण क्षेत्रका खोलामा यस्तै प्रकृतिका छोटा पुल बनाएर समयमा काम सम्पन्न गर्दा नागरिकलाई राहत पुगेको छ ।
बोङ्खानी खोलामा पुल बनेपछि बोङखोनी गाउँ, लामाचौर, पहिरा, सेन्नामा, पूरानो गाउँ, लसुने, धुरीकाटे र गुर्जाहुँदै ढोरपाटनसम्मको यात्रा सहज भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । ‘‘बर्खामा खोलामा पानीको बहाव बढ्दा वारीको वारी, पारीको पारी हुने अवस्था थियो’’ बुढाले भन्नुभयो, ‘‘पुल बनेपछि वर्षा याममा पनि नागरिकले अब सहज रुपमा सुरक्षित यात्रा गर्न पाउने छन् ।’’ २०८२ जेठ मसान्तमा काम सम्पन्न गर्नेगरी २०८१ मङ्सिर २१ गते ठेक्का सम्झौता गरी सोले निर्माण सेवाले पुल निर्माण गरेको हो ।
झोलुङ्गे पुल बगेको दस वर्षपछि मुलाखोलामा कल्भर्ट
यस्तै, झोलुङ्गे पुल बाढीले बगाएको दश वर्षपछि गलकोट नगरपालिका वडा नं. २ को मुलाखोलामा कल्भर्ट बनेपछि सवारीसाधन र स्थानीयलाई आवातजावतमा सहज भएको छ । मुलाखोलाको पुल बगेपछि वर्षाैदेखि स्थानीयले वर्षातमा सास्ती खेप्दै आएका थिए । पक्की पुल बनाउन धेरै निकायमा धाएपनि सफल नभएपछि स्थानीयले मोटर समेत चल्नेसक्ने कल्भर्ट बनाउन सफल भएका हुन् ।
पुल अभावमा २०७२ सालदेखि विद्यालय आउजाउ गर्ने विद्यार्थी, घाँसदाउरा गर्ने किसानले सास्ती खेपेका थिए । झोलुंगे पुल बनाउन परे ४० लाखभन्दा थोरै रकमले सम्भव नहुने, पुल बनाउन करोडबढी लागत चाहिने भएपछि गलकोट नगरपालिकाको अगुवाई कल्भर्ट निर्माण गरिएको हो । खोलालाई तटबन्धन गरेर एकत्रित बनाएपछि कल्भर्ट निर्माण गरेपछि पैदलयात्रीदेखि सवारी साधन गुडाउन सहज भएको हो ।
पूर्वाधार विकास कार्यालय बागलुङको सहयोगमा साढे ६ मीटर लामो कल्भर्ट बनाएपछि स्थनीयको सास्ती हटेको वडा अध्यक्ष हिमबहादुर भण्डारीले बताउनुभयो । मध्यपहाडी लोकमार्गमा नरेठाँटीदेखि झाँक्रीस्थान जोड्ने सडकका लागि यो कल्भर्ट उपयोगी बनेको भण्डारीले बताउनुभयो । २० लाख रुपियाँको लागतमा स्थानीय उपभोक्ता समितिमार्फत कल्भर्ट निर्माण गरिएको हो ।
मध्यपहाडी लोकमार्ग सडक अवरुद्ध हुँदा हलुका सवारीले यो बाटोको प्रयोग गर्न सक्ने भण्डारी बताउनुहुन्छ । कल्भर्ट संरक्षणका लागि नगरपालिकाले ग्याबिन जाली लगाउन १० लाख रुपियाँ लगानी गरेको छ । यो ग्याबीनजाली लगाएपछि स्थानीयको खेतबारी जोगिएको उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण भण्डारीले बताउनुभयो ।
यो कल्भर्ट बनेपछि वडाले खोलाछेउका घाटमा यस्तै प्रकृतिका कल्भर्ट निर्माणको तयारी गरेको छ । धेरै झोलुङ्गेपुलहरु जीर्ण भएको, झोलुङ्गे पुल बनाउने खर्चको आधा रकमले कल्भर्ट बनाउन सकिने र त्यसबाट सवारीसाधन गुडाउन सकिने भएपछि अप्ठ्यारा घाटमा कल्भर्टको योजना बनेको वडाध्यक्ष भण्डारीको भनाइ छ ।