• ११ असार २०८२, बुधबार

घरेलु श्रमलाई वैधानिक र सम्मानित बनाइने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार ११ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घरेलु श्रमिकको कामलाई वैधानिक व्यवस्था गरेर मर्यादित, सम्मानित, व्यवस्थित र सुरक्षित भएर जिउने वातावरण बनाउने प्रतिबद्धता गर्नुभएको छ । 

युवा अधिकारको क्षेत्रमा क्रियाशील युवालय र घरेलु महिला श्रमिक मञ्चले संयुक्त रूपमा मङ्गलबार आयोजना गरेको ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी’ राष्ट्रिय संवादमा उहाँले घरमा गरिने कामको उचित मूल्य दिनुपर्ने व्यवस्था नीतिगत व्यवस्था सुनिश्चित हुनुपर्ने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री दाहालले नेपालको श्रम क्षेत्रको ८४ प्रतिशत हिस्सा ओगटेको अनौपचारिक क्षेत्रका श्रमिकको अधिकार सुनिश्चितका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) महासन्धी १८९ (डोमेस्टिक वर्कर्स कन्भेन्सन, सी–१८९) अनुमोदनको आवश्यकता औँल्याउनुभयो ।

नेपाल विश्वका थुप्रै देशमा श्रमिक निर्यात गर्न देशको सूचीमा अग्रस्थानमै रहेकाले आफ्ना नागरिकको हक अधिकार सुरक्षित गर्नका लागि आएइलओ महासन्धि सी १८९ को अनुमोदन गर्न झनै आवश्यक रहेको उहाँको भनाइ छ । यो महासन्धिमा नेपालले अनुमोदन गरेपछि ठुलो सङ्ख्यामा विदेशमा रहेका घरेलु श्रमिक र स्वदेशमा रहेका घरेलु तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकलाई ठुलो जित हुने पूर्वप्रधानमन्त्री प्रचण्डको बुझाइ रहेको छ । सङ्घीय संसद् रमा कोइरालाले घरेलु श्रमिकको मुद्दा राजनीतिक एजेन्डा नबन्दा हरेक अधिकारबाट वञ्चित हुनु परेको बताउनुभयो । 

कोइरालाले नेपालमा आइएलओ महासन्धी सी १८९ अनुमोदन गर्न ढिला भएको बताउनुभयो । त्यसो त विश्वभर श्रमिकका रूपमा आधिकारिक मान्यता दिने उद्देश्यले सन् २०११ मा आइएलओले महासन्धि सी–१८९ पारित गरिएको र हालसम्म यो महासन्धिमा विश्वका ३७ देशले मात्र अनुमोदन गरेको छ । एसियाबाट फिलिपिन्सले मात्रै अनुमोदन गरेको छ । 

श्रमविज्ञ मिना पौडेलले नेपालले अझैसम्म यो महासन्धि अनुमोदन नगर्नु श्रम अधिकारप्रति नेपालको प्रतिबद्धता कमजोर भएको स्पष्ट हुने बताउनुभयो ।