• ९ असार २०८२, सोमबार

शुद्ध खानेपानी घर–घर पुर्‍याउने अभियान तीव्र

blog

खानेपानी योजनाको अनुगमण तथा निरीक्षण गर्नुहुँदै नगरप्रमुख डम्बर रावतसहितको टोली । तस्बिर सौजन्य : प्रमुखको सचिवालय

कुलबहादुर शाही 
जाजरकोट, असार ९ गते ।
जिल्लाको नलगाड नगरपालिकाले शुद्ध, सफा खानेपानी घर–घर पुर्‍याउने अभियानमा तीव्रता दिएको छ । नगरपालिकाले प्रत्येक आर्थिक वर्ष नमुना कार्यक्रमअन्तर्गत विभिन्न खानेपानी योजना निर्माण गर्न थालेपछि यहाँका स्थानीयवासीहरु खुसी भएका छन् । सम्भाव्यता अध्ययन गरेर आवश्यकताका आधारमा खानेपानी योजना निर्माण गर्दै आएको नगर उपप्रमुख देवका लामिछानेले बताउनुभयो ।

उहाँले शुद्ध खानेपानी जनताको मौलिक अधिकार हो भन्ने मान्यताका साथ योजना निर्माण गर्न निर्देशन दिइएको समेत बताउनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत कतै सौर्य ऊर्जामार्फत लिफ्ट प्रणाली, कतै स्रोतहरूलाई सङ्कलन गरी घरदैलोमा खानेपानी पु¥याउने काम भइरहेको छ । सडक विस्तारसँगै केही खानेपानी मुहानमा क्षति पुगेका स्थानमा वैकल्पिक योजना निर्माण भइरहेको लामीछानेले जानकारी दिनुभयो ।

नगरपालिकाका अनुसार चालु आर्थिक वर्षमा दर्जनौं खानेपानी योजनाहरू सञ्चालनमा छन् । आर्थिक अभावका कारण पानी घरआँगनमा ल्याउन नसक्ने परिवारलाई विशेष प्राथमिकता दिइएको उपप्रमुख लामिछानेको दाबी छ । नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) इकाइ संयोजक चन्द्रबहादुर पुनका अनुसार अहिले सागबारी खानेपानी आयोजना (नलगाड–३ टट्टा) र सालघारी खानेपानी आयोजना (नलगाड–७) निर्माणाधीन अवस्थामा छन् ।

उहाँका अनुसार यस वर्ष ५९ वटा आधारभूत शौचालय, २५० सुधारिएको शौचालय, ३९४ हातधुने स्थान निर्माण गर्ने लक्ष्य रहेको छ । आगामी वर्षमा ६ वटा खानेपानी आयोजना, पाँच वटा शौचालय र पूर्ण सरसफाई टोल घोषणाको लक्ष्य रहेको संयोजक पुनले बताउनुभयो ।