• १६ भदौ २०८२, सोमबार

भक्तपुरमा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला बनाउने तयारी

blog

भक्तपुरको सूर्यविनायकमा भविष्यमा बन्ने सक्ने अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको एआइद्वारा निर्मित काल्पनिक चित्र ।

काठमाडौँ, भदौ १६  गते । नेपालमा फुटबल समर्थकको चापलाई दृष्टिगत गरी सरकारले भक्तपुरको सूर्यविनायकमा अन्तर्राष्ट्रिय स्तरको फुटबल रङ्गशाला निर्माण गर्ने भएको छ । 

सूर्यविनायकमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता देखाउनु भएपछि सरोकारवाना निकाय रङ्गशाला निर्माणका लागि तयारीमा जुटेका छन् । 

प्रधानमन्त्री ओलीले हालै सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको नयाँ रङ्गशाला निर्माणका लागि सम्बन्धित निकायसँग छलफल गर्नुभएको थियो । 


छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङ र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत पदाधिकारीको सहभागिता थियो । 

छलफलमा काठमाडौँको दशरथ रङ्गशालाको क्षमता अपुग भएकाले उपत्यकाभित्रै ५० हजार दर्शक अट्ने रङ्गशालाको आवश्यकता रहेकोले आवश्यक जग्गा र पूर्वाधार व्यवस्थापनमा सहकार्यका लागि पदाधिकारीले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।

त्यतिबेला छलफलमा रङ्गशाला बनाउन प्रयाप्त जग्गा सूर्यविनायक नगरपालिकामा उपलब्ध हुने नगरप्रमुख थापाले खुलासा गर्नुभएको थियो । सोही छलफलका आधारमा प्रधानमन्त्री ओलीले दशरथ रङ्गशालामा साउन १५ गते आयोजित फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटनको अवसरमा सूर्यविनायकमा छिट्टै सुविधासम्पन्न अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गरिने घोषणा गर्नुभएको थियो । 

१५ हजार दर्शक क्षमताको हालको दशरथ रङ्गशालाले नेपाली फुटबल प्रेमीको मन जित्न नसकेको भन्दै नयाँ रङ्गशाला निर्माण कार्यमा सरकार जुटेको प्रधानमन्त्रीको भनाइ थियो । 

जग्गाका लागि सैद्धान्तिक सहमति 

नयाँ तथा आधुनिक फुटबल रङ्गशाला निर्माण गर्ने एन्फाको प्रस्तावसँगै सूर्यविनायक नगरपालिका रङ्गशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने सिफारिस गर्न सैद्धान्तिक रूपमा सहमत भएको छ । 

नगरपालिकाको बैठकबाट नगरपालिका–८, जगातीस्थित पुरानो इँटा टायल कारखानाको क्षेत्रभित्र पर्ने करिब २०० रोपनी जग्गा रङ्गशालाका लागि उपलब्ध गराउन कानुनबमोजिम राष्ट्रिय खेलकुद परिषद्लाई  सिफारिस गरेको छ । नगरप्रमुख थापाले सिफारिस पत्र हालै एन्फाका महासचिव किरण राईलाई हस्तान्तरण गर्नुभएको छ । 


जग्गा प्राप्तिसँगै नयाँ रङ्गशाला निर्माणको कार्य आगाडि बढ्ने क्रम सुरु भएको एन्फामा महासचिव राईले बताउनुभयो । ‘‘दशरथ रङ्गशाला सानो र मर्मत समेत गर्नुपर्ने अवस्थामा छ । भक्तपुरमा नयाँ रङ्गशाला निर्माण कार्यलाई पूर्णता दिन सकियो भने फुटबलका लागि राम्रो हुनेछ । हाल जग्गा उपलब्धताको प्रक्रिया अगाडि बढेको छ । विस्तारै अन्य काम सुरु होला,’’ राईले भन्नुभयो । 

एन्फा नेतृत्वले  प्रधानमन्त्रीसँग पटक–पटकको भेटघाटमा रङ्गशाला निर्माणमा लागि अनुरोध गरिएको राईले बताउनुभयो । विशेषगरी नेपाल सरकार र प्रधानमन्त्रीज्यूको पहलसँगै, युवा तथा खेलकुद मन्त्री, राखेपाको संस्थागत समन्वय तथा सहयोग एवं एन्फाको प्रस्तावमा नगरपालिकाबाट कानुनी व्यवस्था अनुरूप जग्गाको सिफारिस भएको पनि राईले बताउनुभयो ।

उहाँका अनुसार सूर्यविनायकमा निर्माण गरिने नयाँ रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको आधुनिक फुटबल स्टेडियमको रूपमा विकास गरिने छ ।

दशरथ रङ्गशाला अझै खेल्न अयोग्य 

एसियाली फुटबल महासङ्घ (एएफसी) ले काठमाडौँको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्न अझै योग्य नरहेको घोषणा गरेको छ । 

अन्तर्राष्ट्रिय खेल खेलाउन अयाेग्य भएपछि विश्व फुटबल महासङ्घ (फिफा) र एएफसीका खेलहरू पछिल्लो दुई वर्षदेखि दशरथ रङ्गशालामा भएको छैन । 


पछिल्लो पटक नेपालले फिफा विश्वकप छनोट–२०२६ अन्तर्गत यमनसँग २०८० मङ्सिरमा दशरथ रङ्गशालामा खेलेको थियो । त्यसयता कुनै पनि अन्तर्राष्ट्रिय खेलहरू दशरथ रङ्गशालामा हुन सकेको छैन । एएफसीले नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेलसमेत अन्यत्र सर्दै आएको थियो ।

फिफा विश्वकप छनोट र एएफसी एसियन कप छनोट–२०२७ अन्तर्गत नेपालले मलेसिया र भियतनामसँग घरेलु मैदानमा खेल्नुपर्ने खेल फेरि दशरथ रङ्गशालामा नहुने भएको छ । 

भियतनाम र मलेसियाविरुद्धको ‘होम गेम’ खेलाउनका लागि एएफसीले दशरथ रङ्गशालालाई अझै मान्यता नदिँदा नेपालको खेल पुन: अन्य देशमा सर्ने पक्का भएको हो । यसअघि नेपालले आगामी अक्टोबर १४ मा भियतनाम तथा नोभेम्बर १८ तारिख मलेसियासँग छनाेट खेल दशरथ रङ्गशाला खेल्ने तालिका थियो ।

त्यसअघि नेपालले अक्टोबर ९ तारिख भियतनामसँग उसकै मैदानमा ‘अवे गेम’ खेल खेल्ने तालिका छ । एएफसीले दशरथ रङ्गशाला अयोग्य रहेको ठहर गर्दै नेपालको खेल तटस्थ मैदानमा गर्न एन्फालाई प्रस्ताव गरेको छ ।

मैदान निरीक्षण गर्न नेपाल आएको एएफसीका प्राविधिक टोलीको प्रतिवेदनका आधारमा हालै एएफसीका सहमहासचिव शिन मान गिलले एन्फालाई दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय खेल आयोजना हुन नसक्ने जानकारी दिनुभएको हो । 

यस्तै एएफसीले एन्फालाई पत्राचार गर्दै अभ्यासका लागि एन्फाले सिफारिस गरेको च्यासल र भद्रकालीस्थित नेपाली सेनाको मैदान पनि लायक नरहेको उल्लेख गरेको छ । 

एएफसीले यसअघि नै दशरथ रङ्गशालाको फ्लड लाइट, मैदान, पानीको निकास, खेलाडी, टिम अफिसियल, खेल पदाधिकारी, भिआइपी, भिभिआइपी, मिडियाजोनजस्ता संरचना उचित नभएको ठहर गरेको थियो । 

यस्तै एएफसीले दशरथ रङ्गशालामा समर्थक प्रवेश गर्ने र निस्कने गेट एउटै भएकोले सुरक्षामा खतरा रहेको औँल्याउँदै रङ्गशालाको प्यारापिटका सिट बस्नका लागि उचित नभएको जानकारी पनि एन्फालाई राको थियो ।

विश्वकप र एसियन कप छनोटअन्तर्गत नेपाल समूह ‘एफ’ मा छ । यस समूहमा नेपालसहित भियतनाम, लाओस र मलेसिया छन् । नेपालले छनोटमा दुई खेल खेल्दा जित निकाल्न सकेको छैन ।

नेपाल यसअघि गत मार्चमा भएको मलेसियाविरुद्धको ‘अवे गेम’मा २–० र जुनमा भएको लाओसविरुद्धको ‘अवे गेम’मै २–१ ले पराजित भएको थियो । नेपालले लाओसविरुद्धको ‘होम गेम’ सन् २०२६ को मार्च ३१ तारिख खेल्ने तालिका छ ।