• १२ असार २०८१, बुधबार

एघार वर्षसम्म पनि पुल नबनेपछि ठेक्का तोड्ने तयारी

blog

धनगढी, असार २ गते । कैलालीको भजनी नगरपालिका–३ स्थित कान्द्रा नदीमा निर्माणाधीन पुलको निर्माण कम्पनीसंग ठेक्का सम्झौता तोड्ने तयारी गरिदैंछ । 

अढाई वर्ष निर्माण समायवधि रहेको पुल ११ वर्षसम्म पनि नबनेपछि हुलाकी राजमार्ग आयोजनाको कार्यालयले निर्माण कम्पनीसंग ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाएको हो । पटक–पटक म्याद थप गर्दा पनि पुल अधुरै रहेको छ । कम्पनीलाई कालोसूचीमा पनि राखिने आयोजनाको कार्यालयले जानकारी दिएको छ । 

‘अब पुरानो निर्माण कम्पनीसंग ठेक्का तोडेर बाँकी काम पूरा गर्नको लागि अर्को ठेक्का गर्नुको विकल्पै छैन’, हुलाकी राजमार्ग आयोजना धनगढीका सूचना अधिकारी इन्जिनीयर पदम मडैले भन्नुभयो । ‘पटक–पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीले काम गरेन । ठेक्का सम्झौता तोड्नका लागि आवश्यक कागजात तयार पारिरहेका छौं ।’ 

२०६८ जेठ २१ गते उक्त पुलको ठेक्का भएको थियो । साल्पा-शेर्पा–लामा–विरुवाले संयुक्त रुपमा ठेक्का पाएका थिए । जसमध्ये साल्पा-शेर्पा (हाल परिवर्तित नाम हिमाली जेभी) ले काम गर्दै आएको थियो । तर, कम्पनीले तदारुकताका साथ निर्माणको काम नगर्दा चार चोटीसम्म म्याद थप गर्दा पनि निर्माण कार्य पूरा हुन सकेन । 

ठेक्का भएपछि पहिलो निर्माण अवधि ३० महिना रहेको थियो । तर, डिजाइन परिवर्तन गर्नु पर्ने कारणले साढे चार वर्षसम्म काम भएन । २०७२ पुसमा डिजाइन परिवर्तन भएपछि काम सुरु गरिएको थियो । साढे दुई वर्षको पहिलो म्याद २०७५ असारमा सकिएको थियो । चौथो पटक थप भएको म्याद भने गएको चैत मसान्तमा सकिएको छ ।  चार करोड ४३ लाख रुपियाँ पुलको लागत रहेको थियो । 

आयोजना कार्यालयका अनुसार ७५ प्रतिशत काम पूरा भइसकेको छ । एक स्पाम, दायाँबायाँ बाटो र एकतिर ग्याबिन लगाउनमात्रै बाँकी छ । तर, निर्माण कार्य ठप्प छ । अब बर्खा लाग्न लागेकाले यो वर्ष पनि कान्द्रा पुल अधुरै रहने इन्जिनीयर मडैले बताउनुभयो । उहाँका अनुसार पुरानो कम्पनीसंग ठेक्का सम्झौता तोडेर नयाँ ठेक्का प्रक्रियामा जाँदा थप केही समय लाग्नेछ । 

कान्द्रा नदीमा पुल नहुँदा भजनी नगरपालिकावासीसहित सो आसपासका गाउँका स्थानीयलाई ओहोरदोहोर गर्न कठिन हुँदै आएको छ । बर्खामा उनीहरुले जोखिम मोलेर डुङ्गामार्फत नदीमा ओहोरदोहोर गर्ने गरेका छन् । यो वर्ष पनि पुलमा हिड्ने वर्षौदेखिको स्थानीयवासीको सपना साकार हुन सकेन । 

हुलाकी राजमार्ग अन्तर्गतको सो पुल नबनेका कारण धनगढी–भजनी–सत्तीसम्म सवारी साधन सञ्चालनमा समस्या रहेको छ । आयोजनाका अनुसार हुलाकी राजमार्ग अन्तर्गत बाँकी सबै पुल बनिसकेका छन् । ‘त्यहि कान्द्राको पुलमात्रै बन्न बाँकी हो’, सूचना अधिकारी मडैले भन्नुभयो । ‘बाँकी अरु सबै पुल बनिसकेका छन् । कान्द्रा पुल अहिलेसम्म नबन्दा हामीलाई पनि समस्या परेको छ ।’ 

लामो समयसम्म पुल नबन्दा भजनी नगरपालिकावासी आक्रोसित भएका छन् । सो नगरपालिकाका नगर प्रमुख केवल चौधरीले पुल निर्माण कार्य पूरा गर्नका लागि घचघच्याउँदै आएको बताउनुभयो । उहाँले सङ्घीय राजधानीमासमेत डेलिगेशनसमेत जाने उल्लेख गर्नुभयो । 

निर्माणाधीन कान्द्रा नदी पुल निरीक्षण गर्दै भजनी नगरपालिकाका जनप्रतिनिधि । तस्बिर: यज्ञराज जैशी


Author

अविनाश चौधरी