फडिन्द्र अधिकारी
लेखनाथ, असार ६ गते। विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची तय भएको गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ। प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)को विरोधपछि शुक्रबार बिहान ११ बजेलाई बोलाइएको बैठक करिब सात मिनेट चलेर स्थगति भयो।
बैठक सुरु हुनेबित्तिकै माओवादी केन्द्रका सांसदले उठेर विरोध जनाउनुभएको थियो। विरोधपछि सभामुख कृष्णप्रसाद धितालले बारम्बार छलफलबाट समस्या समाधान हुने भएकाले बैठक सुचारु गर्न आग्रह गरे पनि विपक्षीले अवरोध जारी राखेका थिए। विरोध जारी भएपछि सभामुख धितालले आधा घन्टाका लागि स्थगित गर्नुभएको बैठक फेरि सुरु हुन सकेको छैन।
प्रदेशको सडक ऐनअनुसार सडकको मर्मतका लागि तीन प्रतिशत बजेट नछुट्याइएको, सहिद, बेपत्ता, अपाङ्गप्रति अन्यया भएको भन्दै माओवादीले अवरोध गरेको हो। माओवादी केन्द्रका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सहिद, बेपत्ता, घाइते, अपाङ्ग र उनीहरूको परिवारलाई नीति तथा कार्यक्रम र बजेटले सम्बोधन नगरेको भन्दै विरोध जनाउनुभयो। उहाँले भन्नुभयो, “हामीले सडक ऐन पास गर्यौँ, ऐनमा सडकमा छुट्टिएको पुँजीगत बजेटको तीन प्रतिशत बजेट मर्मत सम्भारमा राख्ने भनेको थियो। त्यसलाई ऐनमा पास गरेको कुरा बजेटले बोलेको छैन। अर्थ मन्त्रालयले सम्बोधन नगरेसम्म यो सदन चल्न सक्दैन।”
प्रदेश सरकारले पोखरा १४ मा रहेको सहिद स्मृति स्कुलको समेत अनुदान कटौती गरेको माओवादी केन्द्रकी प्रमुख सचेतक कुशुम बुढा पुनले बताउनुभयो। सहिद स्मृति स्कुलमा जनआन्दोलन, जनयुद्ध, अभिभावकविहीन बालबालिका पढ्छन्। स्कुलमा तीन सय ८५ विद्यार्थी रहेकोमा एक सय ८१ जना आवासीय छन्।