रामकृष्ण बोहरा
बागलुङ, असार ६ गते । फेयरमेड फाउन्डेसनको सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनद्वारा सञ्चालित सम्बोधन परियोजना कार्यक्रम बागलुङमा सञ्चालनमा आएको छ ।
उक्त परियोजनामार्फत जिल्लाका दस वटै पालिका तहमा उपेक्षित उष्णप्रदेशिय रोग, मातृ तथा नवजात शिशु स्वास्थ्य र अपाङ्गमैत्री विकास कार्यक्रम सञ्चालन हुने बताइएको छ । फाउन्डेसनले जिल्लाका दस वटै पालिका तहमा पुगेर मातृशिशुको क्षेत्रमा विशेष कार्यक्रम सज्चालन गर्ने सम्बोधन परियोजनाका संयोजक विष्णु सुवेदीले जानकारी दिनुभयो।
यसअघि फेयरमेडको सहयोगमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनामार्फत जिल्ला भित्रका दुई दर्जन बढी स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना गरिएको थियो । त्यस बाहेक ल्याब सेवा, बालबालिका जन्मेपछि न्यानो बनाउने मेसिन, विभिन्न उपकरण दिइएको तथा स्थानीय तहको सहकार्यमा सुत्केरी प्रतिक्षा घर निर्माण गरिएको थियो । ती क्रियाकलापले सुरक्षित सुत्केरी सेवालाई सहज बनाइरहेको फेयरमेडका टिम लिडर गणेश बरुवालले बताउनुभयो । बरुवालले स्वास्थ्यको क्षेत्रमा भएका कामको जानकारी मात्र नभई समस्या उजागर गर्न पनि पत्रकारिताले साथ दिनुपर्ने सुझाउनुभयो।
परियोजनाका लागि १ करोड ९६ लाख ४९ हजार ८ सय ६० रुपियाँ बजेट रहेको छ । उक्त बजेटमध्ये समावेशी र तथ्यमा आधारित स्वास्थ्य सेवा व्यवस्थापन, योजना र कार्यान्वयनका लागि सक्षम बनाउन २२ लाख १५ हजार, रेफरल व्यवस्थापन लगायत गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्वि गर्न ४६ लाख ६८ हजार ७ सय ५० र पछाडि परेका समुदायहरूमा स्वास्थ्य र सामाजिक जागरुकता र सेवाहरूको उपयोगमा वृद्वि गर्न ६४ लाख ९६ हजार ६ सय ४६ रुपियाँ खर्च गरिने छ ।
नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका अध्यक्ष यामप्रसाद कँडेलले शिक्षा, मानवीय विकास, आर्थिक सुधार लगायतको क्षेत्रमा काम गरिरहेकोमा यो पटक मानव स्वास्थ्यको क्षेत्रमा पनि काम थालिएको जानकारी दिनुभयो । यो अभियानले मानव स्वास्थ्यको क्षेत्रमा पनि संस्थालाई चिनाउन सकिएको अध्यक्ष कँडेलले बताउनुभयो ।
फेयरमेडले सज्चालन गरेको ग्रामिण स्वास्थ्य सुधार परियोजनाअन्तर्गत बागलुङका ३३ वटा स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिएको छ भने २२ वटा सुत्केरी प्रतिक्षाघर निर्माणमा साझेदारी र ५ स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा सज्चालनको काम गरेको छ । परियोजनामार्फत ६९ बर्थिङ सेन्टरका लागि चाहिने सामग्री तथा उपकरण सहयोग गरेर आमा र शिशुको स्वास्थ्यमा काम गरिएको फेयरमेडका टिम लिडर बरुवालले बताउनुभयो ।
गर्भवतीहरूले नियमित गर्भ परीक्षण गर्ने, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी हुने तथा बालबालिकालाई समयमा खोप लगाउने सम्मका काम भएका छन् । परियोजनामार्फत आमा समूहको बैठक बसेर ग्रामीण क्षेत्रमा कोही पनि स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने अभियान समेत सज्चालन गरिएको बरुवालले जानकारी दिनुभयो ।