• १६ भदौ २०८१, आइतबार

विमानस्थलको सरसफाइ गरिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका आन्तरिक विमानस्थलको सरसफाइमा तीव्र सुधार गरिने बताउनुभएको छ । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अभियन्ता एवं सफाइविज्ञ खेमनाथ शर्माले सुरु गर्नुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपति क्षेत्रको दुई हप्ते सरसफाइ अभियानमा सहभागी सरसफाइ कर्मचारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो ।सफाइ मजदुरलाई आवश्यक तालिम र आधुनिक सामग्रीको प्रबन्ध गरेर सरसफाइमा परिवर्तन ल्याइने बताउनुभएको हो । 

देशको प्रतिष्ठासँग जोडिएको क्षेत्र सरसफाइकर्मीको हातमा रहेकाले सरसफाइसम्बन्धी तालिमबाट सिकेको सीपको भरपुर प्रयोग गर्दै विमानस्थल सरसफाइमा कुनै कमी हुन नदिनुहोस् ।”विमानस्थलमा सरसफाइसम्बन्धी टेन्डर गर्दा ठेकेदार फेरिने तर सरसफाइ कर्मचारी उही रहने भएकाले विमानस्थलको सरसफाइ र देशको प्रतिष्ठा जोगाइराख्न सरसफाइ कर्मचारीलाई मन्त्रालयको तर्फबाट सक्दो सहयोग हुनेसमेत उहाँले बताउनुभयो । विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरलाई निर्देशन दिँदै उहाँले विमानस्थलमा सरसफाइसम्बन्धी काम गर्ने कर्मचारीलाई वार्षिक रूपमा पुरस्कृत गर्ने व्यवस्था गर्नसमेत निर्देशन दिनुभयो ।