• २६ असार २०८२, बिहिबार

छुवाछूतविरुद्ध लड्न वैकल्पिक शक्ति बनाइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २ गते  । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध लड्न वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा भएको छ । ऐतिहासिक राष्ट्रिय दलित गोलमेच सम्मेलनले २१ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेको हो । २०८४ सम्म वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न २१ सदस्यीय सचिवालय गठन गरी देशभर विभेदविरुद्ध जागरण अभियान सञ्चालन गर्ने कार्ययोजना सम्मेलनले पारित 

गरेको छ । 

तीन दिनसम्म चलेको सम्मेलनले दलित समुदायको आर्थिक, राजनीतिक, शैक्षिक, सामाजिक र संवैधानिक हक अधिकारका सवालमा अबको कार्यदिशाबारे छलफल गरेको थियो । घोषणापत्रमा संविधानको धारा २४ र ४० लाई कानुन बनाएर कार्यान्वयन गर्न माग गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत गर्नेलाई कडा कारबाही र विभेद अन्त्यका लागि तीन तहका सरकारको नीति, बजेट र कार्यक्रम माग गरिएको छ । 

सम्मेलनले राजनीतिक रूपमा वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने निष्कर्षसहित निर्देशन दिएको सम्मेलनका संयोजक डा. निर्मलकुमार विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानले दिएका अधिकार उपभोग गर्न नपाउने, छुवाछूतका घटनामा न्याय नपाउने र राजनीतिक रूपमा दलित भोट बैङ्कका रूपमा मात्र प्रयोग हुँदै आएकाले अब बलियो वैकल्पिक राजनीतिक शक्तिको विकल्प नभएको सम्मेलनको निष्कर्ष छ ।”  

शक्ति निर्माणका लागि देशभर विभेदविरुद्ध, न्याय र समानताका लागि जागरण अभियान सञ्चालन गर्ने कार्ययोजना पारित भएको सचिवालयका सदस्य सरोजदिलु विश्वकर्माले जानकारी दिनुभयो । साथै राजनीतिक रूपमा विचार, दर्शन र सिद्धान्त मिल्ने शक्तिसँग पनि सहकार्य गर्दै अभियानलाई अघि बढाइने भएको छ । घोषणापत्रमा राज्यका हरेक निकाय र संरचनामा पूर्ण समानुपातिक प्रतिनिधित्व माग गरिएको छ ।   

सम्मेलनमा ५२ जिल्लाबाट दुई सय जनाको सहभागिता थियो । साथै भारतीय दलित आन्दोलनका नेताको पनि सहभागिता रहेको विश्वकर्माले बताउनुभयो । सम्मेलनको उद्घाटन महायज्ञ लगाउन दलित भएकै कारण घर भत्काइएका सिराहा औरही गाउँपालिकाका दीपक मल्लिक डोम र अन्तरजातीय विवाहको नाममा हत्या गरिएका काभ्रेका अजित मिजारका बुवा हरिभक्त ढकालले गर्नुभएको थियो । 

सम्मेलनमा दलित आन्दोलनको समीक्षा, दलित समुदायको वर्तमान स्थिति, दलित समुदायमाथिको विभेदको अवस्था, नेपाली समाजको अन्तरद्वन्द्व, दलित मुक्ति आन्दोलनको भावी रणनीति, दलित मुक्ति आन्दोलनमा राजनीतिक शक्ति निर्माणका वैचारिक आधारलगायतका विषयमा छलफल भएको थियो ।