• २० असार २०८२, शुक्रबार

बागलुङ पूर्णखोप सुनिश्चितता घोषणा

blog

बागलुङ जिल्लालाई शुक्रबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक । तस्बिर : नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट) जेठ ३० गते । बागलुङ जिल्लालाई शुक्रबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा  गरिएको छ । घोषणा भएसँगै बागलुङ जिल्ला गण्डकी प्रदेशमा तेर्सो पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जिल्ला भएको हो । 

घोषणा पश्चात प्रदेश जनस्वास्थ्य कार्यालयलाई पूर्णखोपको प्रमाणपत्र प्रदान गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशमा यस पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बाल मृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने बताउनुभयो ।

यस अगाडी जिल्लाको दस वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङका सबै पालिका पूर्णखोप सुनिश्चितता घोषणा भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त कार्यलय प्रमुख घनश्याम सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, "बच्चा जन्मेदेखि १५ महिनासम्मका र १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरूले पूर्णखोप पाएको सुनिश्चिततासहित दस वटै पालिकालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाइएको छ । बालबालिकाहरूले जन्मेदेखि ५९ महिनासम्मको अवधिमा विभिन्न प्रकारका खोप पाएका छन् ।"

राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरू सबैले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेका छन् । 

बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४ महिना उमेर समूहका चार ४४९ जना बालबालिका, गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका ४२७ जना बालबालिका र १६ देखि २३ महिनाका ३२७ जना बालबालिका, ढोरपाटन नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६०८ जना र १६ देखि २३ महिना उमेर समूहका ४५४ जना बालबालिका र जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ३१३ जना बालबालिका र १६ देखि २३ महिना उमेर समूहका २२६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ ।

यस्तै ताराखोला गाउँपालिकामा कुल एक सय ९३ जना बालबालिका, बरेङ गाउँपालिकामा छ सय ४५ जना बालबालिका, तमानखोला गाउँपालिकामा दुई सय ७७ जना बालबालिका, काठेखोला गाउँपालिकामा चार सय ३४ जना बालबालिका, निसीखोला गाउँपालिकामा ८ सय २८ जना बालिबालिका र बडिगाड गाउँपालिकामा सात सय ९५ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ । पालिकाहरु घोषणा गर्नुअघि सबै वडालाई पूर्ण खोप वडा घोषणा गरिएको थियो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अगाडि गत माघ १ गतेदेखि वडा तहमा खोजपड्ताल कार्यक्रम सुरु गरिएको थियो ।