• ३१ जेठ २०८२, शनिबार

डेढ लाखको भलिबल उपाधी स्याङ्जाको कालिगण्डकीलाई

blog

दोस्रो मुसिकोट मेयर रनिङ्ग कप विजेता टोली । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, जेठ ३० गते ।
दोस्रो मुसिकोट मेयर रनिङ्ग कप खुल्ला अन्तर स्थानीय तह पुरुष भलिवलको उपाधी कालिगण्डकी गाउँपालिका स्याङ्जाले जितेको छ । भलिबलमा निसिखोला गाउँपालिका उपविजेता बनेको छ । भेट्रान्स व्याटमिन्टनतर्फ रेसुङ्गाका राजन काउछा र कृष्ण रानाको समूह प्रथम भएको छ ।

त्यस्तै, राजेश रायमाझी र टङ्क थापा मुसिकोटको समूह उपविजेता बनेको नगर खेलकुद विकास समिति मुसिकोटका अध्यक्ष सन्दिप क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीका अनुसार भलिबलमा विजेता र उपविजेताले क्रमशः एक लाख ५१ हजार र एक लाख एक हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै सेमीफाइनलमा जाने बाँकी दुई ससूहलाई २५ हजारका दरले रकम उपलब्ध गराइएको छ ।

व्याटमिन्टनमा विजेतालाई १५ हजार र उपविजेताले १० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगीता उत्कृष्ट स्काइकर, सेटर, डिफेन्डर, ब्लकर र कोचलाई पनि सम्मान गरिएको नगर खेलकुद विकास समिति मुसिकोटका अध्यक्ष क्षेत्रीले बताउनुभयो । गत वर्षको पहिलो मुसिकोट मेयर रनिङ्ग कप बाग्लुङ्गको गलकोट नगरपालिका प्राप्त गरेको थियो । व्याटमिन्टन प्रतियोगीता भने अहिले पहिलो पटक आयोजना गरिएको हो ।

मुसिकोट नगरपालिका–४ ग्वादीकाचौरमा संचालन भएको भलिवल प्रतियोगीतामा गुल्मी, बाग्लुङ्ग र स्याङजाका आठ समूह र व्याटमिण्टनमा ३५ समूहको सहभागीता रहेको थियो । नगरको नियमित नीति कार्यक्रम अनुसार मेयर कप भइरहेको नगरपालिकाले जनाएको छ । मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले खेल क्षेत्र स्वास्थ्य र देशकै पहिचानका लागि उत्कृष्ट बिधा भएकाले बर्सेनी नगरपालिकाले प्रतियोगीताहरु आयोजना गरिरहेको बताउनुभयो ।

दोस्रो मुसिकोट मेयर रनिङ्ग कपमा श्रीलङकामा भएको १८ वर्ष मुनिकाको काभा भलिवलमा सहभागी मुसिकोट–८ का सागर रसाइलीलाई नगद २५ हजारसहित सम्मान गरिएको छ । भने १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्राप्त गर्ने मुसिकोटका खेलाडीहरुलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत गिरीले जानकारी दिनुभयो ।

नगर खेलकुद विकास समिति मुसिकोटको आयोजनामा सञ्चालित रनिङ्ग कपमा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ ले सम्मान तथा पुरस्कृत गर्नुभएको थियो । धेरै टाढाबाट पनि नगरको प्रतियोगीतामा सहभागी भएर उत्कृष्टता प्रदान गर्ने खेलाडीको प्रसंशा गर्दै खरेलले खेल सबैका लागि आवश्यक विषय भएकाले मुसिकोटका खेलाडीहरु उर्जा र सद्भावका कारण आफुहरुको पनि प्राथमिकतामा परेको बताउनुभयो ।