काठमाडौँ, जेठ २९ गते । बागमती प्रदेशले बिहिबार १३औँ एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताको पुरुष टिम इभेन्टको उपाधि जितेको छ ।
एक दिनअघि बागमती महिला टिम इभेन्ट्समा पनि च्याम्पियन बनेको थियो । महिला टिम इभेन्ट्समा गण्डकी प्रदेश उपविजेता तथा कोशी र कर्णाली प्रदेश संयुक्तरुपमा तेस्रो स्थानमा रहे ।
नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पुरुष टिम इभेन्टको फाइनलमा बागमतीले कोशी प्रदेशलाई ३–० ले हरायो ।
अरहन्तकेशर सिम्हले नैन बहादुर मगरलाई ११–२, ११–३, ११–५, पासाङ ब्लोनले सुर्य कुमार राईलाई ११–३, ११–४, ११–६ र राकेश परियारले खेमराज राइलाई ११–४, ११–५ र ११–३ ले हराएर बागमतीलाई च्याम्पियन बनाउनुभयो । बागमतीको टिममा प्रज्वल प्रधान र कोशीको टिममा शक्ति लिम्बु पनि रहनुभएको छ ।
यसैगरी सुदीपबहादुर सिंह, गौरव कटवाल, यम राना र ज्ञानु चौधरी सामेल लुम्बिनी प्रदेश तथा दिपक थापा, हेसिल घिसिङ, सञ्जिव थापा मगर र कृष श्रेष्ठ सामेल मधेश प्रदेशको टिम संयुक्तरुपमा तेस्रो स्थानमा रहनुभयो ।
सातदोबाटोस्थित स्क्वास हलमा चालू प्रतियोगिताअन्तर्गत बिहिबार व्यक्तिगत स्पर्धा पनि सुरु भएको छ । पहिलो चरणमा बाइ पाएका नेपालका नम्बर एक अरहन्त कर्णालीका हिमाल जिसीलाई सजिलै ११–१, ११–२ र ११–२ ले हराएर क्वाटरफाइनलमा स्थान बनाउनुभयो । कोशीका सुर्यकुमार राई पनि बागमतीका प्रज्वललाई ११–९, ५–११, ११–५ र ११–७ ले हराएर अन्तिम आठमा पुग्नुभयो ।
यसैगरी पहिलो चरणमा कोशीका नैन बहादुर मगरले लुम्बिनका गौरव कटवाललाइ ११–५, ११–२, ११–५, कर्णालीका जैन जिसीले कोशीका शक्तिलाई ११–८, ११–४, ११–८ ले हराउनुभयो ।
कोशीका खेमराजले गण्डकीका राजु श्रेष्ठलाई ११–३, ११–६, ११–८, कोशीका सुर्यकुमारले लुम्बिनीका यमलाई ११–६, ११–६, ११–६ तथा मधेशका सञ्जीवले गण्डकीका नवराज थापालाई ११–८, ११–६ र ११–४ ले हराउनुभयो ।