हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), जेठ २९ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा पार्टीको भवन शिलन्यास गर्नुभएको छ । दुई दिने भ्रमणका लागि मुस्ताङ आउनुभएका अध्यक्ष प्रचण्डले घरपझोङ गाउँपालिकाका–४,जोमसोममा दुई तले पार्टी भवनको शिलन्यास गर्नुभएको हो । पार्टी भवन शिलन्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले मुस्ताङको समस्यालाई सम्बन्धित निकायको ध्यानार्कषण गराउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मेरो मुस्ताङ भ्रमण अविस्मरणीय रह्यो, यहाँका जनताले भोगेका समस्याका बारे मैले निरन्तर खवरदारी गर्ने छु ।’’ अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनको असरलाई मुस्ताङमा आएर नजिकबाट महसुस गर्न पाएको बताउनुभयो । उहाँले पार्टीको गतिविधिलाई सहज बनाउन समेत भवनसहितको संरचना आवश्यकता हुने बताउनुभयो ।
मुस्ताङ भ्रमणको क्रममा उहाँले पार्टीको जिम्मेवारी सम्हालेकालाई सपथग्रहण, कार्यकर्ता प्रशिक्षण, जनभेटघाट, अवलोकनसहित जिल्लामा भइरहेका विकास निर्माणका बारेमा अवलोकन गर्नुभएको थियो । अध्यक्ष प्रचण्ड आजै फर्किने कार्यक्रम रहेको छ । उहाँसँग नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, उपमहासचिव शक्ति बस्नेत, नेकपा (माओवादी केन्द्र)का सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज दीनानाथ शर्मा लगायतका नेताहरू रहनुभएको छ ।