रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), जेठ २९ गते । गुल्मीको मुसीकोट नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत स्वाँरादेखि सालिमेसम्म तीन किलोमिटर पदमार्ग निर्माण गरिएको छ । जिल्लाको पहिलो गुरुङ होमस्टे स्वाँरा गाउँदेखि धार्मिक तथा पर्यटकीय क्षेत्र सालिमे जोड्न पदमार्ग निर्माण गरिएको हो । यो योजना नगरपालिकाको २० लाख ६६ हजार ८३९ रुपियाँ, स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको २६ लाख ४४ हजार २५ रुपियाँ र चार लाख ८३ हजार ९९८ रुपियाँको लागतमा पदमार्ग निर्माण गरिएको मुसीकोट नगरपालिका–६ का वडाध्यक्ष खड्गबहादुर खड्काले जानकारी दिनुभयो । अहिलेसम्म करिब २.७ किलोमिटर पदमार्ग निर्माणको काम भएको छ । स्वाँरा–सालिमे दह पदमार्ग स्तरोन्नतिको काम उपभोक्ता समितिमार्फत काम गरिएको छ ।
मुसीकोट नगरपालिका स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत विभिन्न १२ योजना निर्माणको सम्झौता भएको छ । मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम र नगरपालिकाको साझेदारीमा स्वाँरा–सालिमे दह पदमार्ग निर्माण, कुकुवाखोला–थापाटोला–चितपानी सिँचाइ, सानीचौर–भर्मचौर–बालुवा सिँचाइ योजना, भुवाचिदीमा कुकुवाखोला तटबन्ध र डाँडाथोक सिँचाइ योजना निर्माणको सम्झौता भएको जानकारी दिनुभयो । उहाँले मुसीकोट दरबार क्षेत्र पहिरो नियन्त्रण, निस्तीखोला ठुला पहिरो क्षेत्र र दरमखोला बसेरी क्षेत्र तटबन्ध, तल्लाफाँट रिङ रोडसँगै नाली तथा सिँचाइ कुला निर्माण र आगलागी जोखिम रहेको तिलेहार ठुलपोखरी वनक्षेत्रमा विपत् जोखिम न्यूनीकरणका लागि अग्निरेखा निर्माणको काम हुने बताउनुभयो ।
मुसीकोट नगरपालिकाका प्रमुख जीवलाल खरेलले बेलायत सरकारको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमले स्थानीय तहको विकास र समृद्धिमा ठुलो सहयोग गरेको बताउनुभयो । पदमार्ग निर्माणले धार्मिक पदयात्री र पर्यटकलाई सहज मात्रै नभएर स्थानीय ३८ जनाले रोजगारीसमेत मिलेको सालिमे दह पदमार्ग स्तरोन्नति उपभोक्ता समिति अध्यक्ष नुरबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “यो मार्गले धार्मिक क्षेत्र सालिमेसँग नजिक बनाएको छ । गाउँकै योजना निर्माणमा गाउँकैले रोजगारी पाउनु अर्को सुखद पक्ष हो ।”