• ३० जेठ २०८२, शुक्रबार

गौरमा बिहानी सत्रमा कक्षा सञ्चालन

blog

गौर नगरपालिका कार्यालय । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट ), जेठ २९ गते ।
अत्यधिक गर्मीले विद्यार्थीलाई पठनपाठनमा समस्या हुन थालेपछि रौतहटको गौर नगरपालिकाले नगरपालिका मातहतका सबै विद्यालयहरुलाई बिहानी सत्रमा कक्षा सञ्चलान गर्न निर्देशन दिएको छ ।

गौर नगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै आज बिहीबारदेखि लागू हुने गरी सामुदायिक र निजी विद्यालयहरुलाई बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

केही दिनदेखि गौरलगायत आसपासका क्षेत्रमा अत्यधिक गर्मीसँगै दिउँसोको समयमा तातो हावासमेत चलिरहेका कारण दिउँसोको समयमा कक्षा सञ्चालन गर्दा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले त्यसलाई मध्यनजर गर्दै बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तमकुमार उपाध्यायले जानकारी दिनुभयो ।

नगरपालिकाको निर्देशनसँगै बिहीबारदेखि बिहानी सत्रमा पठनपाठन सुरु भएको छ । नगरपालिका मातहतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिहान ६ देखि ९ः३० बजेसम्म कक्षा सञ्चालन भएको हो । प्रमुख उपाध्यायका अनुसार अर्को सूचना जारी नभएसम्मका बिहानी सत्रमा विद्यालय सञ्चालन हुने छ । 

अत्यधिक गर्मीका कारण सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिका मुर्छित हुने, गर्मी खप्न नसक्ने लगायतका कारण विद्यालय बन्द गर्न अभिभावक लगायत सरोकारवालाले अनुरोध गरे पछि नगरपालिकाले वैकल्पिक बाटो रोजेको हो ।

शिक्षा शाखा प्रमुख उपाध्यायका अनुसार तोकिएको समयमा कक्षा संञ्चालन नगरे कारबाही समेत गरिने छ ।

यता रौतहटको दुर्गाभगवती गाउँपालिकाले बिहीबार र शुक्रबार गरी दुई दिन विद्यालयमा गर्मी बिदा दिएको छ । बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी दुई दिन विद्यालयमा बिदा दिइएको गाउँपालिका अध्यक्ष शम्भु सिंहले बताउनुभयो ।

रौतहटका १८ स्थानीय तहमध्ये गौर र दुर्गाभगवती बाहेक अन्य स्थानीय तहले कक्षा सञ्चालनको समय बिहानी सत्रमा मात्र गर्ने वा विद्यालय नै बन्द गर्ने बारे कुनै निर्णय गरेको छैन । एक सातादेखि बढेको गर्मी तथा तातो हावाले रौतहटको जनजीवन प्रभावित बनेको छ ।