दक्षिण कोरियाले नयाँ नेतृत्व पाएको छ । नवनिर्वाचित राष्ट्रपति ली जे म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग वार्ता गरेर ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँ मध्यमार्गी वामपन्थी नेता ली ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना’ ले अस्तित्वमाथि खतरा उत्पन्न गरेकोमा चिन्तित हुनुहुन्छ । सम्पन्न मध्यावधि निर्वाचनमा लीले पूर्वराष्ट्रपति युन सुक योलको पूर्वपार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन सोलाई पराजित गर्दै विजयी हुनुभएको हो । निर्वाचनमा लीले ४९.४ प्रतिशत मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी किमले ४१.२ प्रतिशत मत पाउनुभयो ।
किमले पार्टीमा आन्तरिक कलह र तेस्रो पक्षका उम्मेदवारले दक्षिणपन्थी मत विभाजन गरेका कारण आफ्नो पराजय भएको बताउनुभएको छ । निर्वाचित भएलगत्तै लीले दक्षिण कोरियाका शीर्ष सैन्य कमाण्डरसँग कुरा गरी औपचारिक रूपमा देशको सशस्त्र बलको सञ्चालन नेतृत्व ग्रहण गर्नुभएको छ । उहाँले छिमेकी उत्तर कोरियासँग समदुरीको सम्बन्ध राख्न शीर्ष सैन्य कमाण्डरलाई आग्रह गर्नुभएको छ ।
नवनिर्वाचित राष्ट्रपति लीले भन्नुभयो, “हामी विभाजन र युद्धको घाउ निको पार्ने छौँ । शान्ति र समृद्धिको भविष्य स्थापित गर्ने छौँ । जतिसुकै मूल्यमा पनि युद्धभन्दा शान्ति राम्रो हो ।” उहाँले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि सञ्चार माध्यम खोल्ने, वार्ता र सहकार्यलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
दक्षिण कोरियाको घनिष्ट मित्र अमेरिकाले महत्वपूर्ण स्टिल र आल्मुनियम निर्यातमा ५० प्रतिशत कर लगाएको छ । यस कदमप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो, “बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना जस्ता विश्व व्यवस्थामा भएका तीव्र परिवर्तनले हाम्रो अस्तित्वमाथि नै खतरा उत्पन्न गरेको छ ।” लीको आगमनसँगै सेयर बजार र मुद्राले सकारात्मक प्रतिक्रिया देखाएका छन् । मुख्य सेयर बजार कोस्पी र कोरियाली मुद्राको मूल्यमा उच्च वृद्धि देखिएको छ ।
कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनले उत्तर कोरियाबारे लीको टिप्पणी उहाँका पूर्ववर्ती युनको टिप्पणीभन्दा ‘महत्वपूर्ण प्रस्थान’ भएको बताउनुभयो । । होङले भन्नुभयो, “यसले वार्ताको माध्यमबाट असहमति समाधान गर्ने उहाँको इच्छालाई सङ्केत गर्छ ।”
लीको आगमनप्रति खुसी व्यक्त गर्दै चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका विदेशमन्त्री मार्को रुबियाले बधाई ज्ञापन गर्नुभएको छ । रुबियोले ‘साझा मूल्य मान्यता र गहिरो आर्थिक सम्बन्ध’ लाई उद्धृत गर्दै सियोलसँग वासिङ्टनको गठबन्धन ‘मजबुत’ रहने टिप्पणी गर्नु भएको छ ।
लीको दल ‘लिबरल डेमोक्रेटिक’ पार्टी अफ कोरिया (डिपिके) ले पहिले नै संसद्मा बहुमत प्राप्त गरिसकेको छ । यसले उहाँ आफ्नो विधायिकी एजेन्डा पूरा गर्न आगामी तीन वर्षका लागि सुरक्षित र सक्षम हुनुहुने छ । लीले सत्तारूढ पिपुल पावर पार्टी (पिपिपी) का किम मुन सुलाई पराजित गरेर विजय हासिल गर्नुभएको हो । यस निर्वाचनमा छ जना उम्मेदवार मैदानमा रहे पनि वास्तविक प्रतिस्पर्धा भने डिपिके र पिपिपी पार्टीका उम्मेदवारबिच मात्रै रहेको थियो । आफ्नो जितपछि लीले भन्नुभयो, “म मतदातालाई धन्यवाद दिन्छु । म यो जिम्मेवारी कहिल्यै बिर्सने छैन । देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार गर्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्ने छु ।” राष्ट्रपतिको निर्वाचनमा कुल मतदाता ७८.३ प्रतिशत थियो, जुन १९९७ पछिको सबैभन्दा उच्च हो जबकि सन् २०२२ को राष्ट्रपति चुनावमा मतदान ७७.१ प्रतिशत मत खसेको थियो । सन् १९८७ मा भएको निर्वाचनमा सबैभन्दा बढी मतदाता ८९.२ प्रतिशत थियो ।
सन् २०२७ मा दक्षिण कोरियामा चुनाव हुने भए पनि पिपिपी पार्टीका युन सुक येओललाई गत वर्षको डिसेम्बरमा मार्सल ल लागु गरेपछि राष्ट्रपति पदबाट हटाइएको थियो । उहाँले मार्सल ल लागु गर्नुको कारण राज्यविरोधी शक्ति र उत्तर कोरियाको धम्कीलाई उद्धृत गर्नुभएको थियो तर यो चाँडै स्पष्ट भयो कि उहाँले आफ्नो राजनीतिक समस्याबाट छुटकारा पाउन मार्सल ल लगाउनुभएको थियो । त्यसको एक सातापछि संसद्ले उहाँलाई महाभियोग लगाएको थियो । गत अप्रिल ४ मा संवैधानिक अदालतले महाभियोग सदर गरेपछि उहाँ पदमुक्त हुनुभयो ।
दक्षिण कोरिया एसियाको आर्थिक शक्ति हो । दोस्रो विश्वयुद्ध समाप्त भएपछि सन् १९४५ मा जापानबाट कम्युनिस्ट नेता किम इल सुङको नेतृत्वमा स्वतन्त्र भएको कोरिया बाह्य कारणले सन् १९४८ मा विभाजित भयो । उत्तर कोरियामा कम्युनिस्ट शासन र दक्षिण कोरियामा पुँजीवादी शासन लागु गरियो । विभाजन भएको दुई वर्षमै दुवै मुलुक युद्धमा होमिए । सन् १९५० देखि युद्ध सुरु भयो । दक्षिण कोरियालाई अमेरिकाले साथ दियो भने उत्तर कोरियालाई तत्कालीन सोभियत सङ्घ र चीनले सघाए । तीन वर्षसम्म भीषण युद्ध भयो । जनधनको व्यापक क्षति भयो । सन् १९५३ मा अन्तर्राष्ट्रिय मध्यस्थतामा युद्धविराम भयो तर शान्ति सम्झौता हुन सकेन । प्राविधिक रूपले अहिलेसम्म दुवै मुलुक युद्धकै अवस्थामा छन् । तैपनि यो अवधिमा दुवै मुलुक प्रगति पथमा लम्केका छन् । दक्षिण कोरिया आर्थिक रूपले सम्पन्न छ भने उत्तर कोरिया सैन्य सुरक्षाका हिसाबले सम्पन्न छ । सुरुका वर्षहरूमा कट्टर दुश्मन झैँ एकअर्काविरुद्ध खनिएका यी मुलुक अहिले भने शान्ति र मेलमिलापको खोजीमा छन् । पहिलेभन्दा कटुता कम भएको छ ।
उत्तर कोरिया परमाणु हतियार सम्पन्न मुलुक बनेको छ । सन् २००६ मा पहिलो परमाणु हतियार परीक्षण गरेको थियो । अहिलेसम्म छ पटकसम्म परमाणु हतियार परीक्षण गरिसकेको उत्तर कोरियामाथि अमेरिका, संयुक्त राष्ट्रसङ्घलगायतले आर्थिक नाकाबन्दी लगाएका छन् । विश्व समुदायबाट एक्ल्याउन खोजे पनि रुस र चीनको सहयोगले उत्तर कोरिया पछि हटेको छैन ।
उत्तर कोरियालाई झुकाउन नसकेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग सिङ्गापुरमा ऐतिहासिक शिखरवार्ता गर्नुभयो । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबिच पहिलो पटक यस्तो वार्ता सम्पन्न भएको थियो । सन् २०१८ जुन १२ मा भएको ट्रम्प–किम शिखर वार्ताप्रति विश्वकै ध्यान केन्द्रित भएको थियो । शिखरवार्तापछि जारी चारबुँदे संयुक्त सहमतिपत्रमा दुवै नेताले हस्ताक्षर गर्नुभयो । उहाँहरू कोरिया प्रायद्वीपलाई पूर्ण रूपले आणविक हतियारमुक्त क्षेत्र बनाउन सहमत हुनुभयो । यो शिखरवार्ताले अमेरिका र उत्तर कोरियाबिचको अविश्वास तथा कटुता कमी ल्याउने काम ग¥यो । विश्वबाट एक्ल्याएको उत्तर कोरिया यो वार्तासँगै विश्व राजनीतिको मूल धारमा प्रवेश ग¥यो ।
उत्तर कोरियालाई एक्ल्याउँदा परमाणु युद्धको खतरा बढेको अनुभव विश्व नेताहरूले गरेपछि वार्ताको ढोका खोलिएको थियो । ट्रम्प र किमबिचको शिखर वार्ता यसअघि दुई कोरियाबिच भएको शिखर वार्ताको पृष्ठभूमिमा भएको हो । उत्तर कोरियाली सर्वोच्च नेता किम र दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति मुन जाय इनबिच यसअघि दक्षिण कोरियामा ऐतिहासिक शिखर वार्ता भएको थियो ।
एउटै भाषा र संस्कृति भएका दुई कोरियाली जनता मिल्न चाहेका छन् तर शक्ति राष्ट्रकै कारण अहिलेसम्म मिल्न नसक्दा कोरिया प्रायद्वीपमा आणविक युद्धको खतरा बढेको हो । आणविक युद्ध भए अहिलेसम्मको उन्नति र प्रगति खरानी हुने कुरामा विश्वस्त दुवै कोरियाका नेता किम र मुनबिचको शिखर वार्तामा युद्ध नगर्ने र वार्ताद्वारा समस्याको निकास खोज्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
उत्तर कोरियाले मुलुकको सुरक्षाको प्रत्याभूति भएमा आणविक कार्यक्रम परित्याग गर्न सहमति जनाएको छ । दक्षिण कोरिया, जापान र अमेरिकाले उत्तर कोरियालाई आणविक निशस्त्र बनाउन खोजेका छन् । उत्तर कोरिया निशस्त्र बन्यो र आणविक होडबाजी बन्द भयो भने कोरिया प्रायद्वीप स्थायी शान्ति हुने अपेक्षा गरिएको छ । अझ दुवै कोरियाली त कोरिया एकीकरणको पक्षमा छन् । एक कोरिया दुई व्यवस्थाका आधारमा दुई कोरियाबिच एकीकरणको सम्भावनालाई पनि उच्चस्तरीय वार्ताको सम्भावनाले सहज बनाउने अपेक्षा गरिएको छ ।
पछिल्ला दिनमा उत्तर कोरिया उदार र लचक बन्दै गएको छ । किमको उदारताले नै दक्षिण कोरिया र अमेरिकासित छुट्टाछुट्टै शिखर वार्ता सम्भव भएको थियो । विश्व राजनीतिबाट अलग बस्दाको पीडाबोध गरेको उत्तर कोरियाले आफूविरुद्धको सात दशक लामो अमेरिकी र राष्ट्रसङ्घीय नाकाबन्दी अन्त्य होस् र अमेरिकासित नयाँ कूटनीतिक सम्बन्ध बलियो बनाउन चाहेको छ । त्यसका लागि अब युद्ध होइन समृद्धि र शान्तिका लागि काम गर्ने बेला आएको छ ।
विश्व शान्ति र स्थायित्वका लागि आणविक होडबाजी त्यागी मिल्नुको विकल्प छैन । आणविक होडबाजीले विश्व शान्ति र स्थायित्व नै खतरामा पर्ने भएकाले युद्धको बाटो बन्द गर्नु पर्छ । मिलेर बस्न चाहेका दुई कोरियाली मुलुकलाई मिल्न दिनु पर्छ । दुई कोरिया मिल्दा विश्वमै युद्धको खतरा टरेर जाने भएकाले पनि मिलेर बस्ने वातावरण बनाउनु आजको आवश्यकता हो ।
पछिल्ला वर्षमा दुई कोरियाबिच नाटकीय ढङ्गले तनावमा कमी आएको छ । उत्तर कोरिया र दक्षिण कोरिया साथै उत्तर कोरिया र अमेरिकाबिच शिखर वार्ता भएपछि तनावमा कमी आएको हो । शत्रुतापूर्ण सम्बन्धबिच भएको वार्ताले उल्लेख्य प्रगति गरेसँगै कोरिया प्रायद्वीपमा स्थायी शान्ति कायम हुने आशा पलाएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति मुन जाय इनबिच सन् २०१८ को सेप्टेम्बर १८ मा प्योङयाङमा दोस्रो शिखर वार्ता सम्पन्न भएको थियो । दक्षिण कोरियाका राष्ट्रपति मुन उत्तर कोरिया जानुभयो । प्योङयाङमा उहाँको भव्य स्वागत भयो । उत्तर कोरियाका नेता किम र मुनबिच पहिलो शिखर वार्ताको सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भयो । दुवै नेताले दुई कोरियाबिचको तनाव हटाई मेलमिलाप कायम गर्न सहमत हुनुभयो । यसअघि गत सन् २०१८ को अप्रिल २७ मा उहाँहरूबिच पहिलो शिखर वार्ता भएको थियो । दुवै नेताले अब युद्ध नगर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो । साथै कोरिया प्रायद्वीपलाई आणविक अस्त्र मुक्त क्षेत्र बनाउने, दुई कोरियाबिचको सीमा सैनिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने प्रण गर्नुभयो ।
एउटै भाषा र एउटै संस्कृति भएका यी मुलुक विभाजनसँगसँगै कट्टर विरोधी बने । सीमा क्षेत्र विश्वकै सबैभन्दा कडा सुरक्षा पर्खाल बनाई दुई देशका नागरिकलाई आवतजावतमासमेत रोक लगाइयो । विभाजनअघि एउटै परिवारका सदस्य विभाजनसँगै कोही उत्तर त कोही दक्षिणतर्फ परे । हजारौँ परिवारको बिछोड भयो । उनीहरूबिच पुनर्मिलन हुन सकेन, जसले गर्दा पारिवारिक विछोडमा धेरै नागरिक तड्पिरहेका थिए । उनीहरू आपसमा मिलेर बस्न चाहेका छन् । दुवै मुलुक एकीकरण भई पुनर्मिलन होस् भन्ने उनीहरूको वर्षौंदेखिको चाहना छ । दुवै देशको नेतृत्वले परिपक्व निर्णय गरे कोरिया प्रायद्वीपमा स्थायी शान्तिको सम्भावना बढेको छ ।