गण्डकी, जेठ २५ गते । सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण लमजुुङको क्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँले पर्यटक लोभ्याउने गरेको छ ।
प्राकृतिक सुन्दरतासँगै परम्परागत संस्कार र संस्कृतिलाई जोगाएर राखेको यो गाउँ गुरुङ संस्कार र संस्कृतिका लागि आफैँमा जीवन्त सङ्ग्रहालयजस्तै देखिन्छ । समुद्री सतहबाट एक हजार ६५० मिटरको उचाइमा रहेको यस गाउँको प्राचीन मौलिकतालाई स्थानीयले जोगाएर राखेका छन् ।
संस्कृतिहरूको पुस्तान्तरण गरिएको यस गाउँमा अहिले पनि गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, सतिघाटु नाचलगायत लोपोन्मुख संस्कृतिलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
गाउँको प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ यस गाउँमा २०६० सालदेखि घरबास होमस्टे सञ्चालन गरिएको पसगाउँ सामूहिक होमस्टेका सचिव रतनसिंह गुरुङले बताउनुुभयो । गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ गाउँका २२ घरमा होमस्टे सञ्चालन भइरहेको उहाँले बताउनुुभयो ।
साथै प्राचीन मौलिकतालाई जोगाउँदै बढ्दो बसाइसराइ रोक्दै गाउँमा नै पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन लक्ष्य रहेको उहाँले बताउनुुभयो । विसं २०६० देखि स्थापित भए पनि २०७४ सालदेखि औपचारिक दर्ता भई सञ्चालनमा आएको होमस्टेमा दैनिक एक सय जनासम्म राख्न सक्ने क्षमता रहेको उहाँको भनाइ छ । सुरुमा तीनवटा घरबाट यहाँ होमस्टे सुरु गरिएको थियो ।
गाउँमा स्थानीय मौलिकतालाई जोगाउनका लागि ढ्ङ्गाले छाएका घरलाई संरक्षण गरिएको छभने गाउँका चोक तथा बाटो छपक्क ढुङ्गाले छापिएको छ । गाउँभित्रै ठाउँठाउँमा रहेका परम्परागत घुमाउने घरले यहाँको सौन्दर्यलाई अझै उजगार गरेको छ ।
यहाँका एक सय ५३ घरमध्ये अधिकांशका छाना ढुङ्गाबाटै छाइएका छन् । गाउँको शिरमा रहेको क्होंमे्रडाँडामा भ्यूटावरसँगै अन्य विभिन्न संरचना निर्माण गरिएको छ । गाउँको पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा आदिले पनि यहाँको सौन्दर्यता र महत्वलाई अझै बढाएका छन् । त्यस्तै कैलाश पर्वतजस्तै देखिने शिलाका साथै विभिन्न देवीदेवताका आकृतिका शिलाले यहाँको धार्मिक महत्वलाई अझै उजागर गरिरहेको स्थानीयवासी बताउँछन् ।
शिला रहेको क्षेत्रस्थित सेतो भिरमा प्राचीनकालदेखि लामा बस्ने विश्वाससमेत रहेको छ । यहाँस्थित ठूलो शिलाको फेदमा रहेको देवीको प्राकृतिक मूर्तिलाई स्थानीयले अत्यन्त श्रद्धाविश्वासका साथ पूजाआजा गर्ने गरेका छन् । यहाँको घरबासलाई गुुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङसम्पदा पदमार्गअन्तर्गत समेट्ने गरी प्रवर्धनका कार्यक्रम पनि सुरु गरेको छ ।
सङ्घले पसगाउँलगायत प्राचीन गुरुङ गाउँहरूलाई गुरुङ सम्पदा पदमार्गमा समेट्दै प्रवर्धन र विकासका कार्यक्रम थालेको सङ्घका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुुरुङले बताउनुुभयो ।
सङ्घकै सक्रियतामा कास्की, लमजुुङ र मनाङका विभिन्न भूभाग समेट्दै सम्पदा पदमार्ग घोषणा गरिएकामा यसलाई सन् २०२६ देखि पूर्णरूपमा सञ्चालनमा ल्याउने योजनाका साथ चरणबद्ध रूपमा अध्ययन, अनुसन्धानका कार्यक्रम सञ्चालन गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुुरुङले जानकारी दिनुुभयो ।
उहाँका अनुसार सङ्घले तेस्रो चरणको कार्यक्रमअन्तर्गत यही जेठ २३ गतेदेखि पोखराबाट सिङ्दी, पसगाउँलगायत गाउँ समेट्दै दूधपोखरी, गुरुङ देउरालीलगायत स्थाननसम्म अन्वेषणात्मक पदयात्रा सञ्चालन गरेको छ । पसगाउँलाई पदयात्रासँग जोड्ने गरी कार्यक्रमहरू सञ्चालन हुनुलाई आफूहरूले अर्थपूर्ण रूपमा लिएको होमस्टे सञ्चालक सदस्य मायादेवी गुरुङले बताउनुुभयो । पसगाउँ आएका पर्यटकलाई यहीँका स्थानीय उत्पादन खुवाउने गरिएको बताउँदै उहाँले पर्यटक फर्कँदा खुसी भएर फर्कने गरेको अनुुभव सुनाउनुुभयो ।
पदयात्रासँगै जोडिएपछि यहाँको प्रकृति र संस्कृति पर्यटन बजारमा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो । पसगाउँमा आउने चाहने पर्यटकका लागि विभिन्न वैकल्पिक मार्ग पनि छन् । लमजुङको बेँसीसहरबाट घलेगाउँ, भुजुङ हुँदै यहाँ आउन सकिन्छ भने बेँसीसहरबाटै मालिङ, साल्मे भञ्ज्याङ हुँदै पनि आउन सकिन्छ । पोखराबाट कालिका हुँदै, रामबजार कर्पुटार हुँदै यहाँ आउने सवारी साधन सञ्चालन भइरहेका छन् ।
पोखरा हुँदै यहाँ आउनका लागि कास्कीको मादीतर्फको बाटो अझै व्यवस्थित भइनसक्दा पनि यात्रीले समस्या भोग्दै आएको स्थानीयवासीको गुनासो छ । गुुरुङ सम्पदा पदमार्गको नक्साङ्कनमा समेटिएका पसगाउँलगायत गाउँको प्रवर्धन र विकासका लागि पनि स्थानीयवासीको उत्तिकै जागरुकता आवश्यक हुने गुुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङले बताउनुुभयो । प्रकृति र संस्कृतिको उपयोगसँगै पर्यटकलाई प्रदान गरिने आतिथ्यताका लागिसमेत सबैको सामूहिक प्रयास आवश्यक हुने उहाँको भनाइ छ । रासस