राजु लामिछाने
रुकुमपश्चिम, जेठ २३ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –९ र जाजरकोटको नलगाड ८ को मन्मैस्थित ठुली भेरी नदिमा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जाजरकोटको नलगाड नगरपालिका –८ निवासी टेकबहादुर नेपालीको छोरी १६ वर्षीया भगवती नेपालीको मृत्यु भएको हो । उहाँका अनुसार भेरीनदिबाट उद्धार गरेर ल्याइएकी भगवतीलाई आठबिसकोट नगर अस्पतालमा मृत घोषणा गरिएको हो ।
शुक्रवार दिउँसो उनीसँगै पौडी खेल्न गएका अन्य दुई जना भने बेपत्ता रहेका छन् । जाजरकोटको नलगाड नगरपालिका –८ निवासी सुरेन्द्र कुसारीकी १२ वर्षीया छोरी आशा कुसारी र १० वर्षीय छोरा महेश कुमारी बेपत्ता रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।
प्रहरी, स्थानीयवासी र आफन्तहरूले उनीहरूको खोजी कार्य गरिरहेका छन् ।