सन्तोषी रावल
बाजुरा, जेठ २३ गते । बाजुराको बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ । शुक्रबार नगर कार्यपालिकाको आयोजनामा आयोजित विशेष समारोहमार्फत उक्त घोषणा गरिएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप तथा रोग नियन्त्रण महाशाखाले तोकेको मापदण्ड पूरा गरेपछि नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको बडीमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाभित्र जन्मेदेखि १५ महिनासम्मका ३८० जना र १६ महिनादेखि ५९ महिनासम्मका ५८४ जना बालबालिकाले सबै नियमित खोप प्राप्त गरिसकेका छन् । यसरी कुल ९६४ जना बालबालिका पूर्ण खोप सेवाको पहुँचमा पुगेका हुन् ।
बालबालिकाले उमेर समूह अनुसार झाडा, पोलियो, दादुरा, टिटानस जस्ता घातक रोगहरूविरुद्धको खोप प्राप्त गर्नु अत्यावश्यक भएकाले यसको पहुँच सबैसम्म पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको बताइएको छ ।
नगर प्रमुख अमर खड्काले बालबालिकाको स्वास्थ्य सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा अभियान सफल भएको उल्लेख गर्नुभयाे । साथै, अभियानमा योगदान पु–याउने सबैलाई धन्यवाद दिँदै नियमितता कायम राख्न सुझावसमेत दिनुभयो ।
कार्यक्रममा उपप्रमुख नन्दा कुमारी थापाले सम्पूर्ण बालबालिकालाई खोप सेवामा समेट्नु मात्र पर्याप्त नभई त्यसको दीगोता कायम गर्नु थप चुनौतीपूर्ण रहेको बताउँदै सबै पक्ष प्रतिबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
“स्वास्थ्य सेवा संवेदनशील क्षेत्र हो, स्वास्थ्यकर्मीहरू मानव जीवनका भगवान हुन्,” उपप्रमुख थापाले भन्नुभयाे, “त्यसैले उनीहरूले सेवा प्रतिको समर्पण झनै बढाउनु आवश्यक छ ।”
बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गरेसँगै अब नियमित अनुगमन, जनचेतना अभिवृद्धि तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणमार्फत खोप सेवाको दीगोपनता कायम राख्ने योजनाअघि सारेको जनाएको छ ।