टिकाराम सुनार
काठमाडौँ, जेठ २३ गते । सन्तराम हरिजनका खल्ती रित्ता भए पनि सपना कहिल्यै रित्तिएनन् । अभाव थियो तर अत्यास थिएन । उल्झन थिए तर अल्झिने फुर्सद थिएन । अपमान थियो, तिरस्कार थियो । जात व्यवस्थाले समाजको पत्रपत्रमा गाँजिएका विभेदका व्यथा त झनै निर्मम, तर सन्तराम गुनासो गरेर बस्नु भएन । समस्यासँग हार्नु भएन, अभाव देखाएर भाग्नु भएन ।
समस्याले थिचि नै रह्यो तर सपनाले निदाउन दिएन । जिम्मेवारीले थाक्न दिएन । सायद सन्तानले पनि बाउभित्रको त्यो ‘जुनुन्’ देखेँ । बाबुआमाको मुहारमा ‘हाँसो’ नदेखे पनि आँतभित्रको ‘आँट’ देखेँ । त्यसैले त आज ‘ढुङ्गाको काप फोरेर पनि निस्किन्छ पीपल, सिर्जना शक्ति संसारमा हुँदैन कहिल्यै विफल’ भन्ने राष्ट्रकवि माधवप्रसाद घिमिरेको कवितांश यथार्थमा परिणत भएको छ । उहाँकी एउटा छोरी सम्भवतः नेपालमा चमार समुदायबाट चिकित्सा शिक्षामा स्नातक ९एमबिबिएस० गर्ने पहिलो महिला बन्नुभएको छ ।
अरू दुई सन्तानले पनि शिक्षामा राम्रो सफलता हासिल गरेका छन् । माइली छोरी सृजना हरिजन हाल बेलायतमा र कान्छो छोरा सन्दीप हरिजन भारतको प्रतिष्ठित प्राविधिक संस्थान एनआइटी राउरकेला, उडिसामा कम्प्युटर साइन्स एण्ड इञ्जिनियरिङ अध्ययन गरिरहेका छन् । यो परिवारको सङ्घर्ष र सफलताको कथा हाल सबैका लागि उदाहरणीय बनेको छ । यसका पछाडि बुबाआमाको असाधारण सङ्घर्ष छ, अदम्य साहस पनि । त्यो सङ्घर्षको आक्रोस्बाट बुबा सन्तराममा ‘अदम्य अठोट’ र सन्तानहरूमा बुबाको सपना पछ्याउने ‘इख’ ले सफलताको बाटो तय गरेको हो ।
‘इँटाको भुङ्ग्रोबाट जन्मिएका सपना’
कपिलवस्तुको बहादुरगञ्ज, त्यहाँभित्रको चमारबस्ती । घन्घोर पञ्चायतकालीन समय, जात व्यवस्थाको पिँधमा रहनु अर्थात् चमार हुनुका व्यथा सन्तरामसँग कतिछन् कति । त्यो क्षण सम्झ्यिो भने अहिले पनि उहाँको मन भत्भति पोल्छ, आँखालाई आक्रोस्को आँसुले बिटुलो बनाउँछ । कथित जात र पेसाले कहिल्यै आत्मसम्मानका साथ बाँच्न नदिने । एकातिर जात व्यवस्थाको जाँतो, अर्कोतिर त्यसैले सिर्जना गरेको गरिबीको खाडल । सन्तरामले आफ्ना बुबाको सङ्घर्ष देख्नुभयो ।
इँटाभट्टाको भुङ्ग्रोमा काँध थाकिने र हात ठेला उठ्ने गरी गरेको बाउको सङ्घर्षभन्दा ‘जातका कारण भोगेको अपमान’ को ‘घाउ’ ले सन्तरामलाई भत्भति पोल्थ्यो । “हो त्यहीबाट सपनाको जन्म भएको हो । बुबासँग इँटाभट्टामा मजदुरी गर्दा गर्दै एसएलसी उत्तीर्ण गरेँ । बुबाको इमानको कमाइबाट प्लस टु पढेँ, थप उच्च शिक्षाको सपना देँखे तर अभाव र गरिबीले टाउँको उठाउन दिएन । सपना त कति देँखेदेँखे तर त्यसलाई पछ्याउँदा सधैँ व्यवधान १”, उहाँले भन्नुभयो ।
विसं २०४२ चैत ३१ गते सन्तरामको जीवनले नयाँ मोड लियो । सङ्घर्षकै क्रममा सो दिनदेखि उहाँ नेपाल प्रहरीको सहायक निरीक्षक बन्नुभयो । “कलिलो मस्तिष्कमा अभाव र अपमानको पीडा बेस्सरी गडेको थियो । त्यसको समाधानको उपयुक्त माध्यमका रूपमा राष्ट्रसेवामा प्रवेश गरेँ । अभावमा हुर्किए पनि जीवित सपनाले साकार रूप ग्रहण गरेको दिन थियो त्यो”, उहाँ सम्झिनुहुन्छ, “अब त सपनाले नयाँ उडान भर्ने भयो भन्ने लाग्यो । प्रायः हाँसो नदेखिने बुबाको मुहारमा हाँसो ल्याउने, आमाको गहना बन्दकी राखेर पढेको ऋण तिर्ने र उन्नत भविष्यको कल्पना गर्ने, सन्तानलाई सुखको जीवन दिने । यही त थिए सपना १ अहँ, त्यो तीन वर्ष पनि टिकेन । निसाफको कुरा गर्दा जागिरबाट बर्खास्त हुनुपर्यो ।”
काठमाडौँको तत्कालीन कमलपोखरी वडा प्रहरी कार्यालयमा कार्यारम्भ गरेका सन्तराम त्यहीबाट बर्खास्तीमा परेर फेरि सडकमै आउनुभयो । बर्खास्तीको दिन अर्थात् २०४५ साउन १७ गते आज जस्तै लाग्छ उहाँलाई । सन्तरामले बताएअनुसार उहाँको कमाण्डमा रहेको टोलीले जबरजस्ती करणीमा एउटा मान्छेलाई पक्राउ ग¥यो । कारबाही अगाडि बढायो, पछि ती व्यक्ति तत्कालीन उच्च प्रहरी अधिकारीका आफन्त रहेछन् भन्ने थाहा भयो । यही घटना गिँजोलियो र पछि अर्को घटनामा सन्तराम रु तीन हजार घुस लिएको भनेर बर्खास्तीमा पर्नुभयो ।
“सङ्घर्ष गरेरै हुर्किए । ठूलो सपना बोकेर जागिर गरियो तर त्यो धेरै टिकेन । जबर्जस्ती बर्खास्तीमा परे । यो जीवनको असाधारण मोड थियो तर हिम्मत हारिन, फेरि सङ्घर्ष गरे । शिक्षण गरेर जीविको चलाए”, उहाँ भन्नुहुन्छ, “दुःख त भयो तर हार मानिन । मसँगै सेवा प्रवेश गरेका कोही एसपी, डिएसपी भएर अवकाश हुँदैछन् । सायद म पनि माथि पुग्थे होला ! ठीकै छ, जीवन त बाहिर पनि रहेछ नि त ! सङ्घर्ष गरेँ, सन्तानलाई शिक्षा र संस्कार दिए । अहिले मेरा सपनालाई सन्तानले पूरा गर्दैछन् ।”
छोरी चमार समुदायबाट पहिलो डाक्टर’
कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बाहादुरगञ्जमा २०५६ कात्तिक ५ गते जन्मिएकी तिनै सन्तरामकी छोरी स्मृति हरिजन हाल ‘डाक्टर’ बन्नुभएको छ । उहाँ ७२औँ नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षा उत्तीर्ण हुनुभएको छ । यही जेठ १२ देखि १५ सम्म सञ्चालित परीक्षाबाट उहाँ उत्तीर्ण हुनुभएको हो । “छोरी डाक्टर बनेको खबर सुनेपछि खुसीको सीमा नै छैन । पत्रपत्रिकामा खबर आइरहेका छन्, विश्वविद्यालय अनुदान आयोगबाट पनि फोन आएको थियो, तपाईंकी छोरी चमार समुदायको पहिलो महिला डाक्टर बन्नुभयो भनेर”, बुबा सन्तरामले भन्नुभयो, “हुन त अन्य सन्तान पनि राम्रै छन् । तीन जनाले सधैँ उत्कृष्ट नतिजासहित उच्च शिक्षा छात्रवृत्तिमा नै पढेँ । छोरी स्मृतिको सफलताले मेरो छाति गर्वले चौडा भएको छ ।”
काठमाडौँको पेन्टागन कलेजबाट ११ र १२ कक्षा छात्रवृत्तिमा अध्ययन गर्नुभएकी स्मृतिले नेपाल सरकारको छात्रवृत्तिमा जानकी मेडिकल कलेज, जनकपुरबाट एमबिबिएस उत्तीर्ण गर्नुभएको हो । उहाँ यसको सबै श्रेय आफ्नो बुबालाई दिनुहुन्छ । “आज म यहाँ एक डाक्टर र महिलाको रूपमा मात्र होइन, मेरो देशको चमार समुदायबाट पहिलो महिला डाक्टरका रूपमा छु । यो मेरा लागि गर्व, भावुक र उत्साहित क्षण हो”, डा स्मृति भन्नुहुन्छ, “हाम्रा लागि अध्ययन, अध्ययनका रूपमा मात्रै थियो होला तर मेरो बुबाका लागि स्वाभिमान, आत्मसम्मान र मुक्तिमार्ग थियो । हाम्रै खुसीका लागि उहाँले जे गर्न सकिन्थ्यो, सबै गर्नुभयो । सङ्घर्ष गर्नुभयो । अपमान सहनुभयो । गहना बेचेर, ऋण लिएर, मजदुरी गरेर सपना बुन्नुभयो । म त त्यो सपनाको माध्यममात्रै हो ।”
उहाँले नेपाल सरकारले विश्वविद्यालय अनुदान आयोगमार्फत ९चमार, डोम, मुसहर, वादी० दिइने छात्रवृत्तिमा अध्ययन गर्नुभएको हो । “मेरो बुबाआमाको सङ्घर्ष, मेरो मेहनत त छँदैछ, नेपाल सरकारले पनि ठूलो गुन लगाएको छ । यदि यो छात्रवृत्ति नपाएको भए सायद मेरो जीवनको मोड नै अर्को हुन्थ्यो । जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति आभार ।”
सरकारले यस छात्रवृत्तिअन्तर्गत मेडिकल कलेज शुल्क, प्रतिमहिना रु पाँच हजार खाजा र स्टेशनरी खर्च दिने गरेको छ । यसर्थ, अब आफ्नो जिम्मेवारी र दायित्व परिवारका लािग मात्र नभई आफ्नो समाज र सिङ्गो देशकै लागि थपिएको र त्यो विश्वास कहिल्यै नतोड्ने उहाँको भनाइ छ ।
डा स्मृति जात व्यवस्थामा हेयको दृष्टिले हेरिने समाजमा जन्मिएका हरेक युवाले आँटेमा हरेक कुरा सम्भव हुने भन्दै अब गुनासो गरेर बस्ने छुट कसैलाई नभएको बताउनुहुन्छ । “मैले गरिब, कथित तल्लो जात र महिला भएकैले दोहोरोतेहेरो उत्पीडन भोग्नु त प¥यो नै । चमार समुदायलाई वर्षौदेखि सस्तो श्रम र जातीय पूर्वाग्रहको चस्माबाट हेरिएको छ । त्यसैले गुनासा त छन्, समाज, सामाजिक संरचना, हाम्रो व्यवस्थाबारे, तर गुनासो गरेर पुगिने कही होइन”, उहाँले भन्नुभयो, “मैले मेरो आमाबुवा र शिक्षकहरूबाट सुनेँ, ‘शिक्षा नै शक्तिको सबैभन्दा ठूलो हतियार हो’ भनेर । त्यसैले सबै तिरस्कार, अपमान, अभाव र गुनासाहरूलाई छोडेर सपना पछ्याउन हिँडे । त्यही भएर यो स्थानमा छु ।”
उहाँ धेरै मानिसका लागि डाक्टर बन्नु व्यक्तिगत लक्ष्य भए पनि आफ्ना लागि त्यो व्यक्तिगत मात्र नभई समाजमा आशा जगाउने अभियान हो भन्नुहुन्छ । आफ्नो सफलता वर्षौंवर्षको मौनता तोड्ने, हिम्मत गर्ने, तिमी सक्दैनौँ भनेर ‘भुइँमान्छे’ लाई हेलोहोचो गर्नेहरूलाई उत्तर पनि भएको डा स्मृतिको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “मैले, हामी सक्छौँ भनेर उत्तर दिनु थियो । चुपचाप सपना देखिरहेकी चमार समुदायकी हरेक युवतिलाई भन्न चाहन्छु–तिमी जहाँ जन्मियौँ, त्यो तिम्रो दोष होइन । तिमी जस्तो रहिरहन्छौँ, त्यसको दोषी तिमी पनि हौँ । त्यसैले हिम्मत गर, तिम्रो भाग्य र भविष्य तिमीले नै निर्धारण गर्ने हो । तिमीलाई सपना देख्ने, पढ्ने, नेतृत्व गर्ने र सेवा गर्ने सम्पूर्ण अधिकार छ । बस् अब उठ, जाग ।”
अबको योजना
केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार (राष्ट्रिय जनगणना २०७८) नेपालमा १४२ जातिहरू र १२४ भाषाभाषीहरू छन् । १४२ जातिहरूमध्ये १७ औँ नम्बरमा चमार, राम र हरिजन भनेर उल्लेख छ भने यो समुदायको जनसङ्ख्या तीन लाख ९३ हजार २५५ छ । जसमा पुरुषको सङ्ख्या एक लाख ९६ हजार ७९९ र महिलाको सङ्ख्या एक लाख ९६ हजार ४६४ रहेको छ । यो समग्र जनसङ्ख्याको एक दशमलव ३५ प्रतिशत हो ।
चमारलाई दलितभित्र पनि शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिले पिछडिएको,राजनीतिक पहुँचबाट टाढा रहेको र जातीय संरचनाका कारण अत्यन्त पिँधमा रहेको जातिका रूपमा लिइन्छ ।
यसैकारण सदियौँदेखि चमार जातिले अनेकौँ सामाजिक तथा सांस्कृतिक बन्धनभित्र बसेर कष्टपूर्ण जीवन बिताउँदै आएका छन् । यही समाजमा जन्मिएकाले स्मृतिको भोगाई पनि पृथक छैन । “बुबा सङ्घर्षशील भएकाले हामीले धेरै अभावको सामना त गर्नुपरेन तर समाजको संरचनाभित्र रहँदा पटकपटक अपमानको सामना गर्नुप¥यो । विगतमा मात्रै होइन, कतिपय अवस्थामा अचेल पनि जातको कुरा आएपछि अपमान भोग्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यो बन्धन, अपमान छिचोलेर यहाँसम्म पुगेकी छु, अब आफ्नो सम्पूर्ण जीवन आत्मसम्मान, समाजको हित र चिकित्सा सेवा तथा शिक्षामार्फत समाजमा जागरण ल्याउने हुनेछ ।”
बाल्यकालका धेरै अपमानका कथाहरू डा स्मृतिको मनस्पटलमा कति छन् कति । ती सबै सम्झेर साद्य छैन । चिकित्सा शिक्षा पढ्दै गर्दा भोगेको एउटा घटना भने मनमा ‘खिल’ झै गडेको छ । “चिकित्सा शिक्षा अध्ययनकै क्रममा समुदायमा अभ्यासमा गएको एकदिन एउटा घरमा बच्चालाई बिस्कुट दिए । लगत्तै उसको अभिभावकले जात सोध्नुभयो, चमार भनेपछि बच्चाले खाइरहेको बिस्कुट खोसेर फालिदिए”, उहाँले सम्झिनुभयो,“यसले निःशब्द बनायो । केही बोलिन तर आफैँसँग प्रश्न गरेँ, आखिर यसमा मेरो के गल्ती भयो रु म चमार जातिमा जन्मिनु मेरो पाप हो रु त्यो द्दटना सम्झिँदा निकै दुःख लाग्छ ।”
यसैकारण डा स्मृति आफ्नो उपलब्धिलाई केवल आफ्नो र परिवारको विषय मात्र बनाउन चाहनुहुन्न । यो आफ्नो समुदायकै आत्मसम्मानको सुरुआत हो भन्नेमा प्रष्ट हुनुहुन्छ । “यो केबल मेरो व्यक्तिगत सफलता होइन, त्यसैले अबको मेरो लक्ष्य केबल जागिर गर्ने मात्र होइन, समाजमा जागरण ल्याउने पनि हो । समाजसेवा, समान अधिकारको पैरवी, हिजो विविध कारणले हामी दबिएका थियौँ तर अब उठका छौँ भनेर संसारलाई भन्नुछ”, उहाँको कथन छ ।
बुबा सन्तराम पनि पढाई र विभिन्न समस्यामा घर, जग्गा, सम्पत्ति बन्धकी राखेर लिएको करिब रु ४० लाखको हिसाबकिताबमा कम, आफूजस्तै अरु छोरीहरूमा शिक्षा र चेतनाको ‘भोग’ जगाउनमा बढि लागेको देख्ने चाहना सुनाउनुहुन्छ । “अब घरको जिम्मेवारी बाँडिएको छ । माइली छोरी, छोरा र स्मृतिले पनि त्यो जिम्मेवारी उठाउलान् । त्यसैले चिन्ता घटेको छ । अब मेरा सन्तानले समाजका लागि केही गर्छन् कि गर्दैनन् भनेर अर्को चिन्ता थपिएको छ । त्यसका लागि पनि म उत्प्रेरक बनिरहने छु”, उहाँले भन्नुभयो ।
चिकित्सा शिक्षा अध्ययनमा प्रत्यक्ष जोडिनुभएका जानकी मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट डा धर्म सुवेदी पनि राज्य र आफूहरूले दिएको अवसरलाई स्मृतिले समाज र देशको हितमा लगाउने अपेक्षा रहेको बताउनुहुन्छ । “उहाँमाथि अभिभावक मात्रै होइन, राज्यले ठूलो लगानी गरेको छ । हाम्रो योगदान पनि त्यत्तिकै छ । त्यसैले अब स्मृतिले आफूजस्तै सीमान्तकृत समुदायको हितमा पनि काम गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । रासस