यदुप्रसाद भट्ट
मनाङ, जेठ २३ गते । तीन साता लामो अन्नपूर्ण चक्रीय पदमार्गको यात्राबारे पर्यटकले सुनेर, पढेर र देखेर अनेक कल्पना गरेका हुन्छन् । सुन्दर हिमालको काखमा हिँड्दा स्वर्गीय आनन्द हुने परिकल्पना गर्नु स्वाभाविक हो । नेपालको हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा पर्यटकले धुलो खानु पर्ला भन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन तर सडक सञ्जालले मनाङलाई नजिकै ल्याउँदा पदमार्ग हराउँदै गएकोमा कसैको पनि ध्यान गएको पाइँदैन ।
२८ वर्षको अवधिमा गत वर्ष सबैभन्दा धेरै ३० हजार ८६६ पर्यटक मनाङ घुम्न पुगेका छन् । यति धेरैको सङ्ख्यामा पर्यटक भित्रिनु नेपालको पर्यटन व्यवसायका लागि खुसीको कुरा हो तर पदमार्ग नासिँदै जानु चिन्ताको विषय बन्दै गएको छ । गाउँको बाटो मासिएर बनेको सडकले मनाङवासीको जनजीवन सहज बनाए पनि वैकल्पिक पदमार्ग नहुँदा हिमालको काखसम्म पुग्ने हजारौँ पर्यटक सवारीसाधनले उडाएको धुलो खाँदै धुलाम्मे सडकमै हिँड्न बाध्य छन् ।
अहिले पनि चलनचल्तीको बाटो अनुसार नै लमजुङको बेँसीसहरबाट हिँड्दै मनाङ पुग्ने योजना बनाएका पर्यटकले नागबेली बाटो, चिटिक्क गाउँघर, स्वच्छ हावा, सफा मस्र्याङ्दी सुसाएको सुमधुर ध्वनि सुन्दै उकालो लाग्ने कल्पना गर्छन् । विडम्बना चाहिँ के छ भने बेँसीसहर छाडेको केही समयमै पर्यटक रुमालले अनुहार ढाक्न बाध्य हुने गरेका छन् ।
विसं २०५१ बाट सडक निर्माण गर्न थालिए पनि तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका कारण काम ठप्प भएको थियो । त्यसपछि २०५७ सालमा सरकारले सडक निर्माणको जिम्मा नेपाली सेनालाई दियो । झन्डै एक दशक लगाएर सेनाले सडक निर्माण गर्यो । बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म ८७ किलोमिटर सडक २०६९ सालमा उद्घाटन भएको थियो । २०८२ सालमा माथिल्लो मनाङसम्मै सरर गाडी पुग्ने गरी सडक विस्तार भएको छ । आठ/नौ दिन हिँडेर, खच्चडमा सामान बोकाएर मनाङ पुग्नेहरू अहिले पाँच/सात घण्टामै माथिल्लो मनाङ पुग्ने गरेका छन् ।
यातायात, आवतजावत, ढुवानीका लागि सडकले सहजता ल्याए पनि विश्वभरबाट अन्नपूर्ण चक्रीय पदमार्ग भ्रमणका लागि मनाङ पुग्ने पर्यटकले भने सास्ती खेप्नु परिरहेको छ । पदमार्ग मासेर बनाइएका सडकको विस्तारसँगै पुरानो बाटो मेटिएको छ । सडक पुग्नुअघि पर्यटक हिँड्ने गरेको पदमार्ग सग्लो छैन ।
पर्यटकलाई डोर्याउँदै थोरोङला पुग्ने पदप्रदर्शक पनि बाटोकै गुनासो सुन्नु परिरहेको बताउँछन् । पर्यटकलाई धुलाम्मे सडकमा हिँडाउन अप्ठ्यारो हुने गरेको उनीहरूको भनाइ छ । पदप्रदर्शक सुदर्शन देवकोटाले गुनासो गर्दै भन्नुभयो, “विश्वकै उत्कृष्ट पदयात्रा मानिएको यो क्षेत्र बिस्तारै पर्यटकको आकर्षणबाट टाढिन थालेको छ । यसले नेपालको पर्यटन व्यवसायलाई नै नकारात्मक असर पार्ने स्थिति देखिएको छ ।”
विश्वकै उत्कृष्ट भन्ज्याङका रूपमा समुद्री सतहबाट पाँच हजार ४१६ मिटरको उचाइमा रहेको थोरोङला पदयात्री, पर्यटकमाझ प्रसिद्ध छ । मनाङबाट थोरोङला पार गरेर मुस्ताङ पुग्न सकिने भएकाले पनि धेरै पर्यटकलाई यस मार्गले आकर्षित गर्छ । पर्यटकीय गन्तव्यका रूपमा विकसित हुनुअघि मनाङ र मुस्ताङबिच व्यापारका लागि स्थानीय बासिन्दा यही मार्ग प्रयोग गर्थे ।
पर्यटक आउने क्रम सुरु भएसँगै चार दशकयता थोरोङला पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । मनाङमै रहेको तिलिचो ताल पुगेर थोरोङला पार गर्नेहरू पनि उत्तिकै हुन्छन् । अन्नपूर्ण हिमशृङ्खला, गङ्गापूर्ण, मनासलु, माछापुच्छ«े हिमाल, तिलिचो पिक र धवलागिरि हिमशृङ्खला पनि आगन्तुकलाई यो बाटोमा तान्ने आकर्षण हुन् ।