अविनाश चौधरी
धनगढी, जेठ २१ गते । अतिक्रमणका कारण अस्तित्व गुमाएको पुरैना ताल पुन:स्थापनाको कार्य सुरु भएको छ ।
कैलालीको भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुन:स्थापनाको कार्य थालिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरले ताल पुन:स्थापनाको काम थालेको छ । विगतदेखिको लामो प्रयासपछि पुरैना ताल पुन:स्थापनाको काम थालेको डिभिजन प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो । “तालको सुरक्षणका लागि ठुलो बाँध निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो,“यस कार्यमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ ।”
जैविक विविधताले निकै महत्त्वपूर्ण ताल २०७० सालदेखि अतिक्रमणको चपेटा परेको थियो । मानवीय हस्तक्षेपले ताल क्षेत्र खेतीयोग्य जमिनमा परिणत भएको छ । विगतमा विभिन्न प्रजातिका चरा रमाउने पुरैना सिमसार क्षेत्रमा हाल किसानले खेतीपाती गर्ने गरेका छन् । यस तालको पुन:स्थापना गरेर पहिलेकै अवस्थामा फर्काउने र पर्यापर्यटनको विकासमा टेवा पुर्याउने लक्ष्य रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
पुरैना तालको पुन:स्थापनाका लागि दुई वर्ष अगाडि ताल क्षेत्रको सीमाङ्कन र नक्साङ्कन गर्ने कार्य भएको थियो । तर केही स्थानीयले सुकुम्वासी आयोगले दिएको जमिन पनि ताल क्षेत्रमा मिसाएको भन्दै पुनः अतिक्रमण थालेका थिए । ताल संरक्षणमा वन कार्यालय र स्थानीयबिच विवाद देखिएको थियो ।