• २३ जेठ २०८२, शुक्रबार

दरबार हत्याकाण्ड छानबिन गर्न माग

blog

मङ्गलबार बसेको राष्ट्रिय सभा बैठक । तस्बिर : सुजन गुरुङ

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २१ गते । राष्ट्रिय सभाका सदस्यले दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने माग गर्नुभएको छ । पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गर्दै सभाका सदस्यले २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डको छानबिन गर्न माग गर्नुभएको हो । 

राष्ट्रिय सभाको शून्य समयमा आफ्नो धारणा राख्नुहुँदै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक गोपीबहादुर सार्की अछामीले नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले छ वर्ष प्रत्यक्ष शासनमा रहँदा दरबार हत्याकाण्डको प्रमाण लुकाउने काम त गरेनन् भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “दरबार हत्याकाण्डको छानबिन हुनु पर्छ । पूर्वराजालाई दिइएको सेवा सुविधा खारेज गर्नु पर्छ ।” नेपाली कांग्रेसबाट निर्वाचित सदस्य किरणबाबु श्रेष्ठले व्यवस्था परिवर्तनको माग गर्दै सडकमा रहेकाको वास्ता नगरी सरकार र राजनीतिक दल जनताको हित हुने गरी सुशासन र विकासका लागि दत्तचित्त भएर लाग्नुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हिजो सत्ताका स्वाद पाएकाहरू इतिहास फर्काउने भनेर सडकमा छन् । लास उठेर आउँछ कि भनेर हामीले समय बर्बाद गर्नुभन्दा जनताको निराशा चिर्ने गरी काम गर्नतर्फ ध्यान दिनु पर्छ ।”

सभाका सदस्य सुरेश आलेमगरले आर्यघाटमा सेलाइसकेका राजतन्त्रका भूतहरू फेरि पनि सडकमा आएको टिप्पणी गर्नुभयो । उहाँले व्यवस्थामाथि धावा बोल्ने काम भए गणतन्त्रका लागि सङ्घर्ष गर्नेहरू शान्त भएर नबस्ने बताउनुभयो । नेता आलेमगरले भन्नुभयो, “जनताका छोरा राजतन्त्रमा राष्ट्राध्यक्ष हुन सम्भव थियो ? पम्फादेवी बनेर स्विटजरल्यान्डको बैङ्कमा गणतन्त्रमा कोही नेताले पैसा जम्मा गरेका छन् ? मूर्ति चोरीको व्यापार गरेका छन् ?”

नेकपा एमालेबाट निर्वाचित सदस्य गोपाल भट्टराईले गणतन्त्र स्थापनापछि देश डुब्नै लागेको प्रचार गरिएकोमा आपत्ति जनाउनुभयो । उहाँले विकास, समृद्धि र जीवनस्तर दर्शाउने आधार प्रतिव्यक्ति आय २०५८ मा २६० डलर रहेकोमा अहिले एक हजार ४५६ डलर पुगेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सभाका सदस्य मोहम्मद खालिदले सरकारले गरेका कामको अर्थपूर्ण सन्देश प्रवाह नभएकाले व्यवस्था विरोधी सल्बलाएको दाबी गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, विकास निर्माण, गरिबीलगायत थुप्रै विधामा विगतको भन्दा उल्लेख्य सुधार भएको बताउनुभयो । सभाका सदस्य तुलसाकुमारी दाहालले राजनीतिक नेतृत्वले एक अर्कामाथि हिलो छ्याप्ने काम गर्दा व्यवस्था विरोधीलाई आत्मबल पुगेको टिप्पणी गर्नुभयो । राष्ट्रिय सभाको मङ्गलबारको बैठकले प्रतिनिधि सभाबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८० का सम्बन्धमा भएको संशोधनलाई सहमति गरेको छ । सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव गर्नुभएकोमा सभाले सर्वसम्मतबाट सो प्रस्तावमा सहमति जनाएको हो । सभाको अर्को बैठक जेठ २१ गते अपराह्न १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।