• २२ जेठ २०८२, बिहिबार

नयाँ वित्तीय व्यवस्थाका लागि सशक्त सहकार्य आवश्यक : प्रधानमन्त्री

blog

भर्चुवल कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि नयाँ वित्तीय व्यवस्था र सशक्त विश्व सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । स्पेनको सेभिलामा जुन ३० देखि आगामी जुलाई ३ सम्म हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले आह्वान गर्नुभएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले स्वच्छ प्रणालीगत सुधारका लागि सो अवसरमा आग्रह गर्नुभयो । विभिन्न राष्ट्र प्रमुख, सरकार प्रमुख सहभागी भर्चुअल बैठकमा प्रधानमन्त्री ओलीले घट्दो विकास सहायता र लगानीकाबिच विकासोन्मुख मुलुकले आन्तरिक स्रोतबाट मात्र धान्न नसक्ने भएको प्रभावकारी विश्व सहकार्यमा जोड दिनुुभयो ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथै नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।