प्रनिश गिरी
कुश्मा, जेठ २० गते। पर्वत जिल्लाको कुश्मा नगरपालिकास्थित मकै खेती गरिएका कृषि फाँटमा बाँदर पसेर आतंक मच्चाइ दिँदा कृषक मर्कामा परेका छन्। पाक्न लागेको मकै बाँदरले खाने र भाँचिदिने गरेपछि कृषक समस्यामा परेका हुन्।
कुश्मानगरपालिका वडा ९ मा पर्ने अधिकारी फाँट र सल्लेनी फाँट उब्जाउ जग्गा गनिन्छन्। सिँचाइको राम्रो सुविधा भएका दुवै फाँटमा स्थानीयले करिब तीन हजार रोपनीमा खेतीपाती गर्दछन्। कृषकले बाँदरले मकै खाइदिने डरले अधिकांश जग्गा बाँझो नै छाडेका छन्। अधिकारी फाँट र सल्लेनी फाँट गरी करिब दुई सय रोपनीमा मकै खेती गरिएको छ। खेती गरेका मकै बारीमा बाँदर पसेर नष्ट गरेपछि कृषक चिन्तित छन्।
स्थानीय कृषक दिपक अधिकारीले हुलका हुल बाँदर आउने र खेतीमा पसेपछि निकाल्न नै नसकिने बताउनुभयो।
कृषक अधिकारीका अनुसार गत जेठ १२ गतेदेखि साउन ८ गतेसम्मलाई ३० जना स्थानीय कृषकलाई हेरालुको काम गर्ने भनी समय तालिका तोकिएको छ। मकैका लागि हेरालुको काम गरेको हुँदा अधिकारी फाँटमा बाँदरले केही कम क्षति पुराएको कृषकको भनाइ छ।