नेत्र शाही
जुम्ला, जेठ २० गते । ऐतिहासिक सिंजा र रारा जोड्ने नाग्म गमगढी राजमार्गमा रहेका १०
पक्कि पुलमध्य सात वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।
पुल नहुँदा लामो समयदेखि सास्ती खेप्दै आएका यात्रुलाई सहज यात्राका लागि निर्माण सुरु गरिएको सात वटा पक्कि पुल अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार नाग्मदेखि मुगुसम्मका १० वटामध्य सात वटा पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय जुम्लाका सूचना अधिकारी प्रदिप चौधरीका अनुसार निर्माणाधिन अन्तिमचरणमा रहेका पक्कि पुलहरु हिमा गाउँपालिकाको बाजागाडा, सिंजा गाउँपालिकाको बिष्टवाडा, कनकासुन्दरी र सिंजा जोड्ने रोकायाबाडा, मुगुको राराछायानाथ नगरपालिकामा रहेको पिना खोला, झ्यारी खोला र गोठीखोलाका पक्किपुलहरु अन्तिम चरणमा पुगेका छन् । हिमा गाउँपालिकाको बाजागाडाको पुलमा भने केही काम बाँकी भए पनि गाडि गुड्न थालेका छन् ।
सूचना अधिकारी चौधरीका अनुसार यस क्षेत्रको कामका लागि हिम सगरमाथा कन्सट्रक्सन प्राईभेट लिमिटेडसँग जम्मा बजेट वहुवर्षिय ३२ करोड ६८ लाख रुपियाँ सम्झौता भएको छ । उहाँ अनुसार यस वर्ष सम्झौता गरिएको मध्य १० करोड ५० लाख रुपियाँ भुक्तानी भएको र अन्य रकम माग गरिएको छ ।
तीन पुल विवादमा
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार ९३ किलोमिटरको यस राजमार्गमा तीनवटा पुल विभिन्न समस्याका कारण अगाडि बढ्न सकेका छैनन् । कार्यालयका अनुसार नाग्म र हिमा गाउँपालिका जोड्ने पुल जग्गा विवादका कारण निर्माण कार्यमा रोकिएको छ । कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाको पुल घरटहरा भएकाले अगाडि बढ्न सकेको छैन ।
यसैगरी, मुगुको लुम्स पुल पनि घर र जग्गाका कारण काम अगाडि बढ्न सकेको छैन । नाग्मको पुल कालिकोट र जुम्लाको सिमा भएकाले कालिकोट जिल्लासँग पनि सहकार्य भइरहेको छ । विवादित स्थानमा स्थानीय सरकारलाई सहजीकरणका लागि भन्दै अनुरोध पत्र समेत पठाइएको कार्यालयले जनाएको छ । विवाद सामाधानका लागि ढिलाई हुँदा भने ति क्षेत्रमा यस आर्थिक वर्षमा समेत पुल बन्न नसक्दा हैरान हुने भएको छ ।