बुलबुले समाचारदाता
सुर्खेत, जेठ १९ गते । गुराँस गाउँपालिकाका महिलाले महिलामैत्री योजना तर्जुमा र बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । पालिकामा ५२ प्रतिशतभन्दा बढी महिला भए पनि सो बजेट र नीति तथा कार्यक्रम अझै बन्न नसकेको उनीहरूको गुनासो छ ।
गुराँस गाउँपालिकामा आयोजना गरिएको ‘सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले यस्तो गुनासो गरेका हुन् । गाउँपालिकाको वडा नं. ५ मा भएको कार्यक्रममा स्थानीय दुर्गा मल्लले पालिकाले यसअघि सार्वजनिक गरेको बजेटमा प्रत्यक्ष रूपमा लैङ्गिक उत्तरदायी कम रहेको बताउनुभयो । बजेट लैङ्गिक अर्थात् महिलामैत्री नहुँदा परिवर्तन महसुस नभएको उहाँको गुनासो छ । मल्लका अनुसार विकास भनेपछि भौतिक पूर्वाधारलाई मात्रै मान्यता दिइएको छ । सामाजिक विकासका योजनाले प्राथमिकता नपाएको सोही वडाकी विमला चन्दले बताउनुभयो । प्राथमिकता पाएकै बजेटमा महिलाको भूमिका नहुँदा सामाजिक तथा महिलाका विषय ओझेलमा परिरहेको उहाँको गुनासो छ । यसै गरी कौशिला विकले बजेट महिलाको क्षमता, रोजगारी र आय बढाउने खालको हुनुपर्ने बताउनुभयो ।
सहभागीले वडामा खानेपानीको चरम अभाव रहेको, कृषि प्राविधिक ज्ञान नपाएको, स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा महँगो भाडामा सुर्खेत बिरामी लैजानुपर्ने बाध्यता रहेको, सिपमूलक कार्यक्रम नपाएको, पालिकाले दिने अनुदानमा पहुँच नपुगेको जस्ता समस्या राखेका थिए । लैङ्गिकमैत्री बजेट निर्माणका लागि छलफल थालिएको गुराँस गाउँपालिकाले जनाएको छ । आउँदो वर्ष समुदायका नागरिकको हितमा हुने गरी योजना, कार्यक्रम र बजेट निर्माण गरिने गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले प्रतिबद्धता जनाउनुभएको छ । महिलाका लागि उत्पादनसँग जोड्ने गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।