• २२ जेठ २०८२, बिहिबार

व्यापारीले छोडेपछि जितेबजार सुनसान

blog

कालीकोट समाचारदाता

कालीकोट, जेठ २० गते । कुनै बेला निकै चहलपहल हुने कालीकोटको जितेबजार अहिले सुनसान छ । बजारको सिरानमा कर्णाली राजमार्ग, आँगनमा कर्णाली र तिला नदीले उच्च जोखिममा रहेको खाँडाचक्र नगरपालिका–२ मा रहेको जितेबजार थियो कि थिएन भने अनुमान नलगाउने अवस्थामा पुगेको छ । यहाँ बसोबास गरेर व्यापार गर्ने व्यापारीले जितेबजार छोडेपछि बजारै समाप्त भएको हो । 

२०६३ सालदेखि कालीकोटका तत्कालीन १७ गाउँ विकास समिति र बाजुरा, मुगु र हुम्लाका नागरिकलाई लक्षित गरेर स्थापना भएको जितेबजार जोखिमका हिसाबले उच्च थियो । पटक पटक जिल्ला प्रशासन कार्यालयले उक्त स्थान छाड्न पत्राचार गर्दासमेत जितेबाट अन्यत्र जान नमानेका व्यापारी अहिले भने आफैँ तितरबितर भएका छन् । 

कर्णाली नदीको खुलालुमा पक्की पुल बनेसँगै जितेबजार खाली भएको हो । जितेबजारमा लामो समय व्यापार गर्दै आउनुभएका व्यापारी महेन्द्र कठायतले खुलालमा पक्की पुल बनेसँगै दैनिक उपभोग्य सामान सिधै ढुवानी हुन थालेपछि जितेबजार खाली भएको बताउनुभयो । कुनै बेला यही झोलुङ्गे पुलबाटै दैनिक उपभोग्य वस्तु ओसारपसार हुँदा बजारको सान छुट्टै थियो । 

कालीकोटका कर्णालीपारिका १७ गाउँ विकास समिति र बाजुराको पूर्वी क्षेत्र, मुगुको तल्लो भाग र हुम्लाका केही नागरिकलाई चाहिने दैनिक उपभोग्य वस्तु जितेबाट ढुवानी हुने गथ्र्यो । त्यो समयमा जितेबजारको सान छुट्टै थियो, सानो एक कोठा बनाउने जमिनको भाडा पनि उच्च थियो । व्यापार पनि उस्तै थियो । उक्त समयमा व्यापारीले प्रशासनको उर्दीलाई समेत मानेन । भिरबाट ढुङ्गा खसेर पाँच जनाको ज्यानसमेत गयो तर व्यापारी टसमस भएका थिएनन् । कालीकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष रतनबहादुर शाहीले ज्यानको जोखिम भएकाले धेरै पटक प्रशासनले व्यापारीलाई सुरक्षित स्थानमा सार्ने पहल गरे पनि सुरुमा नमानेको तर अहिले भने आफैँ सरेपछि जितेको रौनकै हराएको बताउनुभयो । कर्णाली तिरमा जोखिमयुक्त बजार थिए । बर्सातको समयमा ज्यान जाने भए पनि व्यापारीले उक्त ठाउँ छोड्न मानेका थिएनन् । अहिले भने आफैँ छोडेर व्यापारी अन्यत्र जाँदा यहाँको बजार अनुमान गर्नलायक मात्र बनेको छ ।