• २१ जेठ २०८२, बुधबार

आर्थिक अभावका कारण भण्डारा सेवा केन्द्र निर्माणमा ढिलाई

blog

कुश्मा ४ पर्वतमा निर्माणाधिन भण्डारा सेवा केन्द्रको भवन । तस्बिर : प्रनिश गिरी

प्रनिश गिरी
कुश्मा (पर्वत), जेठ १९ गते ।
जिल्लामै पहिलो पटक धार्मिक पर्यटन प्रवर्धनको उद्देश्यले स्थापना गर्न लागिएको भण्डारा सेवा केन्द्र निर्माणमा ढिलाई भएको छ । भौतिक संरचना निर्माण कार्य छ महिनामै सम्पन्न गरी सेवा प्रदान गर्ने लक्ष्य लिएको भए पनि आर्थिक अभावले काम अलपत्र परेको हो ।

सेवा केन्द्रले सर्वसाधारणबाट मात्रै आर्थिक सङ्कलन गर्न नसकेपछि पक्की भवनको फिनिसिङको कार्य अधुरो रहेको जनाएको छ । सर्वसाधारणको आर्थिक तथा भौतिक सहयोगमा कुश्मा नगरपालिका–४ स्थित महाविर स्थानमा पोखरा–बाग्लुङ राजमार्ग नजिकै दुर्गानाथ पशुपति भण्डारा सेवा केन्द्रको स्थापना हुँदैछ ।

दुर्गानाथ पशुपति भण्डारा सेवा केन्द्रले पर्वतमा रहेका धार्मिकस्थलको दर्शन साथै सदरमुकाम कुश्मा हुँदै मुक्तिनाथ पुग्ने साधुसन्त, तीर्थालु, भक्तजनको सेवाका लागि भण्डारा सेवा केन्द्रको स्थापना थालेको हो ।

भण्डारा सेवा केन्द्रले काम थालेको ६ महिना भित्रमा सेवा उपलब्ध गराउने भनिए पनि आर्थिक अभावकै कारण एक वर्षभन्दा बढी हुँदा समेत निर्माणको काम पूरा गर्न सकेको छैन ।

भण्डारा सेवा केन्द्रको संरक्षक दुर्गानाथले संस्थाको सेवामा भएको ढिलाईबारे भन्नुहुन्छ, ‘‘सनातन धर्म संस्कृतिको संरक्षण एवम् धार्मिक पर्यटन प्रवर्धन गर्नका लागि भण्डारा सेवा केन्द्रको स्थापना गर्न लागिएको हो । सेवा केन्द्रको स्थापनामा ढिलाई भए पनि सबैको सहयोगबाट काम पूरा हुने विश्वास छ ।’’

भण्डारा सेवा केन्द्रले भक्तजनहरुको आर्थिक र भौतिक सहयोगबाट निर्माणाधिन तीन तले पक्की भवनमा आवास गृह, भोजनालयसँगै ध्यानसाधना केन्द्रको सेवा उपलब्ध हुनेछ । केन्द्रले भण्डारासहित अन्य भौतिक संरचना निर्माणका लागि ६० लाख लागतको अनुमान गरेको छ । सेवा केन्द्रले स्थानीय सरकार तथा गण्डकी प्रदेशको पर्यटन मन्त्रालयलाई आर्थिक सहयोगका लागि आग्रह गरेको जनाएको छ ।

भवन नजिकै रहेको साधुसन्तहरु नागा बाबा महाविर गिरी महाराज, नागाबाबा विष्णु गिरी महाराज र नागाबाबा पशुपति गिरी महाराजको पवित्र समाधिस्थल वरिपरि सुन्दर बगैँचा र गौशाला निर्माण गर्ने योजना केन्द्रको छ । ब्रम्हलीन हुनु भएका नागाबाबाका नेपाल तथा भारतसहित विश्वका विभिन्न देशमा गरी सयौंको सङ्ख्यामा चेलाहरु रहेका छन् ।

पर्वतमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका गुप्तेश्वर गुफा, मोदिवेणी घाट, पंचासे, डहरेको लेक, शालग्राम महाशीला, कालाञ्जर पर्वत लगायत थुप्रै स्थलहरु छन् । ती धार्मिक स्थलहरुको दर्शन गर्न आउने भक्तजनहरुलाई डिजिटल प्रणाली मार्फत् केन्द्रमा रहेको सूचना घरबाट आवश्यक सूचना र जानकारी गराई धार्मिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य लिएको केन्द्रका अध्यक्ष मानकुमारी गिरीले बताउनुभयो । अध्यक्ष गिरी भन्नुहुन्छ, ‘‘मुक्तिनाथको यात्रा गर्ने नेपाल तथा भारतीय साधुसन्त, तीर्थालु र भक्तजनलाई भोजन र आवासको सेवा दिदै पर्वतको धार्मिक पर्यटन प्रवर्धन गर्ने पवित्र उद्देश्यले सञ्चालन गरिने भण्डारा सेवा केन्द्रलाई स्थानीय सरकार तथा सरोकारवाला सबै पक्षको सहयोगको खाँचो छ ।’’

गुप्तेश्वर धार्मिक पर्यटन प्रवर्धन संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्माले भण्डारा सेवा केन्द्र स्थापनाले पर्वतको सिङ्गो धार्मिक पर्यटन क्षेत्रको प्रवर्धनमा टेवा पुग्ने हुँदा छिटो सम्पन्न हुनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गुप्तेश्वर गुफा क्षेत्रमा भण्डारा सेवा केन्द्र बन्नु धार्मिक पर्यटन प्रवर्धनका लागि आवश्यक छ । केन्द्रका लागि सबै पक्षको सहयोग हुुन पर्छ । केही माथि १२ ज्योतिर्लिङगसहित ५६ फिट अग्लो शिवपार्वतीको मूर्तिको निर्माण गरिँदै छ । गुप्तेश्वर गुफाको एकीकृत विकासमा सेवा केन्द्रको सहयोग रहने विश्वास लिएको छौं ।’’