• २० जेठ २०८२, मङ्गलबार

डुङ्गा दौडमा फेवा हर्पन र ताल पारीको जित

blog

आइतबार फेवातालमा आयोजित डुङ्गा दौडका सहभागी। तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ १८ गते। कास्कीको पोखरा महानगरको फेवातालमा आइतबार भएको दोस्रो राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली पहिलो भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना र फेवा डुङ्गा व्यवसायी संगठनको व्यवस्थापनमा भएको प्रतियोगितामा महिलातर्फ ताल पारी ‘बी’ सर्वाेत्कृष्ट बन्यो।

प्रतियोगितामा पुरुषतर्फ बाराही डुङ्गा घाट र स्विमिङ पुल घाट क्रमशः दोस्रो र तेस्रो बन्दा फिस्टेल घाटको समूह सान्त्वना भयो। महिलातर्फ गौरीघाट, पहारीघाट र जलारी दिदीबहिनी समूह क्रमशः दोस्रो, तेस्रो र सान्त्वना बने। महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले समान नगद ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वनाले १० हजारसहित ट्रफी, मेडल, प्रमाण–पत्र पाएका छन्।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनका लागि फेवातालको संरक्षण अपरिहार्य भएकोमा जोड दिनुभयो। उहाँले शनिबारबाट फेवाको सीमामा पोल गाड्न थालिएको स्मरण गर्दै योजनावद्ध रुपमा तालको संरक्षण गरिने उल्लेख गर्नुभयो। “फेवाताल यहाँको मुख्य प्रर्यटकीय स्थल हो, यसको संरक्षणमा तीन तहकै सरकार मिलेर काम हुन्छ,” उहाँले भन्नुभयो। 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल पर्यटकीय राजधानी पोखराको प्रमुख पहिचान भएको बताउनुभयो। उहाँले यसको संरक्षण र सौन्दर्यकरणमा महानगरले यथोचित ध्यान दिएको उल्लेख गर्नुभयो। 


फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले तालको महत्त्व बुझाउँदै भावी योजना बनाउन प्रतियोगिताले सघाउने उल्लेख गर्नुभयो। “फेवातालको सौन्दर्य र यहाँ हुन सक्ने भवितव्य दुवैबारे सरोकारवाला जानकार बन्नु आवश्यक छ,” उहाँले भन्नुभयो, “त्यसैका लागि प्रतियोगिता आयोजना गरिएको हो। यसले यहाँको पर्यटन प्रवर्धनमा पनि सघाउँछ।”

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत सागर श्रेष्ठले फेवातालको देश, विदेशका प्रचार र प्रवर्द्धन गर्न प्रतियोगिता सहायक हुने उल्लेख गर्नुभयो। फेवाका आठ घाटमा डुंगा व्यवसायी समिति आवद्ध सात सय १२ डुंगा छन्। बेला बेलामा हेलचेक्रयाई र भवितव्यका कारण तालमा दुर्घटनासमेत हुने गरेका छन्।