गोरखापत्र समाचारदाता
भक्तपुर, जेठ २० गते । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत व्यक्तिबाट मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरिएका व्यक्ति १९ औँ दिनमा पूर्ण स्वास्थ्य लाभ गरी सोमबार ‘डिस्चार्ज’ हुनुभएको छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण भएका ५० वर्षीय शिव महर्जन सोमबार ‘डिस्चार्ज’ हुनुभएको हो । उहाँलाई १८ वर्षीय मस्तिष्क मृत व्यक्तिबाट कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालकै प्रत्यारोपणविद्बाट उक्त कार्य सफल भएको जानकारी दिँदै नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एक व्यक्तिलाई मिर्गौला र अर्का एक व्यक्तिलाई कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । कार्यकारी निर्देशक डा. श्रेष्ठले नेपालमा वार्षिक तीन हजार जनाको मिर्गौला फेल हुने गरेको जानकारी दिँदै मस्तिष्क मृत्युबाट नेपालमा मिर्गौला प्रत्यारोपण गराउन अझै जनचेतनाको आवश्यकता रहेको बताउनुभयो ।
मिर्गौला र कलेजो दुवै एकै पटक प्रत्यारोपण गर्नुभएका शिव महर्जनले नेपालमा चिकित्सा क्षेत्रमा पहिलो पटक मिर्गौला र कलेजो दुवै फेल भएर प्रत्यारोपण गर्न पाउँदा धेरै खुसी भएको बताउनुभयो । दुवै अङ्ग फेल भएकाले विदेशमा समेत सम्भव नहुने उपचार नेपालको सरकारी अस्पतालमा गराउन पाउँदा आफूलाई भाग्यमानी सम्झिएको भन्दै उहाँले अरू बिरामीका लागि सुखद क्षण भएको बताउनुभयो । मस्तिष्क मृत्यु भएका व्यक्तिको कलेजो र मिर्गौला प्रत्यारोपणको नेतृत्व शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले गर्नुभएको थियो ।