अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ १८ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा नयाँ नागरिकताको प्रमाणपत्र वितरण दरभन्दा राहदानी वितरण धेरै देखिएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा नेपाली नागरिकताको प्रमाणपत्र नयाँ लिने पाँच हजार पाँच सय ३२ हुँदा राहदानी वितरण पाँच हजार सात सय ४६ रहेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।
त्यस्तै, गत आर्थिक वर्षमा राहदानी छ हजार आठ सय ६६ वितरण हुँदा नयाँ नागरिकताको प्रमाणपत्र लिनेको सङ्ख्या भने छ हजार दुई सय २४ रहेको थियो । चालु आर्थिक वर्षको वैशाख मसान्त सम्ममा नयाँ नागरिकता लिने चार हजार चार सय हुँदा राहदान लिने भने चार हजार पाँच सय ५९ रहेको छ ।
नागरिकताको प्रतिलिपि लिनेहरू भने चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई हजार सात सय २०, गत आर्थिक वर्षमा तीन हजार चार सय ६४ र आर्थिक वर्ष २०७९/०८० मा तीन हजार चार सय २६ रहेका छन् ।