ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १८ गते । अन्नपूर्ण हीरक महोत्सवको पहिलो दिन शनिबार साँझ फ्रान्सेली कलाकारहरुको समूहले अन्नपूर्ण प्रथम हिमालको काखमा रहेको नारच्याङ गाउँमा सांगीतिक साँझको आयोजना गरेका छन् ।
हीरक महोत्सवको अवसरमा पदयात्राका लागि आएका पदयात्री र पाहुनाहरुको स्वागतका लागि शनिबार बेलुका अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण संगीत समूहले नारच्याङमा सांगीतिक प्रस्तुति दिएको हो ।
कलाकारहरुले नेपाली पनको झल्को दिनेगरी आफ्नो प्रस्तुति दिएका थिए । मौरिस हर्जोगका छोरा म्याथिएस हर्जोग, बुहारी, नाती सिमोन ज्याक्युस हर्जोगलगायतले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रमा पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख एवम् प्रतिनिधिहरु, टान गण्डकीका प्रतिनिधिहरु, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) प्रतिनिधिहरु, नेपाल पर्वतारोही संघका प्रतिनिधिहरु, पत्रकार र अन्य पदयात्रीहरुको सहभागिता रहेको थियो ।
साथै अन्नपूर्ण पदयात्रामा आएका स्वदेशी तथा विदेशी पदयात्रीहरुलाई अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा शनिबार साँझ बाजागाजा सहित भव्य स्वागत गरिएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा शनिबारदेखि हीरक महोत्सवको आयोजना गरिएको छ । महोत्सवको पहिलो दिन शनिबार नारच्याङ पुगेका पदयात्री तथा पाहुनाहरुलाई अन्नपूर्ण गाउँपालिका र स्थानीयवासीहरुले स्वागत गरेका हुन् ।
नारच्याङ आउनुभएका पहिलो पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगसहितको फ्रान्सेली कलाकारहरुको टोलीलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले स्वागत गर्नुभयो ।
नारच्याङका आमा समुह,युवा क्लब र स्थानीयहरुवासीहरु पाहुनाको स्वागतमा लामबद्ध भएर बस्नुभएको थियो । नौमति बाजामा माथिएससहितका विदेशी पाहुनाहरु नाचेका थिए ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र नारच्याङमा शनिबारदेखि जेठ २१ गते सम्म विविध कार्यक्रमको आयोजना गरेर हीरक महोत्सव मनाउन लागिएको छ ।
अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा हीरक महोत्सवका विभिन्न कार्यक्रमहरु गरिने भएको हो ।
पर्वतारोही हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरकारी स्तरबाट गरिएको पहिलो कार्यक्रमले सम्पूर्ण म्याग्दीवासीहरुलाई नै उत्साहित बनाएको पालिका अध्यक्ष पुनले बताउनुभयो ।
जुन ३ अर्थात् जेठ २० मा प्रधानमन्त्री केपी शर्मा ओलीले आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण, खुला सङ्ग्रहालय र मौरिस हर्जोगको सम्मानमा नामाकरण गरिएको मैरिस हर्जोग पदमार्गको उद्घाटन गर्नुहुनेछ । आधार शिविरमा आयोजित कार्यक्रमपछि प्रधानमन्त्री केपी शर्मा ओली नारच्याङको बेंसीमा हीरक महोत्सव मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुहुने छ ।
हीरक महोत्सवका अवसरमा म्याराथन दौड प्रतियोगिता, पुख्र्यौली प्रतियोगितालगायतका कार्यक्रमहरु समेत आयोजना गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुगिन्छ ।
आधार शिविर जाने पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।