गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १८ गते । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले आइतबारदेखि ग्रिन बन्ड जारी गर्ने भएको छ । बैङ्कले वार्षिक छ प्रतिशत ब्याजदर भएको सातबर्से अवधिको बन्ड निष्कासन गर्न लागेको हो । निफ्राले अङ्कित मूल्य एक हजार रुपियाँका दरले पाँच अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट यसअघि अनुमति पाइसकेको छ ।
सामूहिक लगानी कोषसहित सर्वसाधारणलाई दुई अर्ब रुपियाँको ऋणपत्र सार्वजनिक निष्कासनबाट बिक्री गर्ने बिक्री प्रबन्धकले जनाएको छ ।
तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने जनाइएको छ । लगानीकर्ताका लागि छिटोमा जेठ २१ र ढिलोमा असार १ गतेसम्म ऋणपत्रमा आवेदन खुला रहने छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल छ ।