साहारा लिम्बु
फुङलिङ, जेठ १७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेहेले जितेको छ । शनिबार भएको फाइनल खेलमा लिम्बुदिनलाई ३–१ को सेटमा पराजित गर्दै मेहेलेले उपाधि जितेको हो ।
प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव २०८२ को अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि जिते सँगै मेहेलेले ५० हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ । द्वितीय भएको सुरुम्खिमले ३० हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
मेहेलेले क्वाटरफाइनलमा कालिखोला सेमिफाइनलमा लिम्बुदिनलाई हराएर फाइनलमा स्थान बनाएको थियो । त्यस्तै सुरुम्खिमले क्वाटर फाइनलमा आङखोप र सेमिफाइनलमा सादेवालाई हराएर फाइनलमा स्थान बनाएको थियो ।
विजयी टिमहरूलाई कोशी प्रदेशका पूर्व मुख्य मन्त्री शेरधन राईले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा पालिकाका कालिखोला, सादेवा, आङ्खोप, साब्लाखु, लिम्बुदिन, सुरुम्खिम र मेहेले गरी सात वटा वडाको सहभागिता रहेको थियो ।
समुद्र सतहदेखि तीन हजार ५१५ मिटर उचाइ रहेको पर्यटकीयस्थल सिदिङ्वाधाको प्रचारप्रसारका लागि सिदिङबा गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता सादेवाको थामडाँडादेखि धामसम्म दौड सञ्चालन गरिएको थियो ।
सिदिङ्वा धामसहित गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुङ्गा लगायतका स्थलको थप प्रचारप्रसार साथै प्रवर्द्धन गर्न पनि महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।