काठमाडौँ, जेठ १७ गते । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको लिएको सही राजनीतिरूपी शरीरमा विज्ञताको मांशपेशी भर्नसकेमात्रै सुन्दर नेपाल बनाउन सकिने बताउनुभएको छ । शनिबार काठमाडौँमा बुद्धिजीवि परिषद्को महाधिवेशनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले एमालेले लिएको उद्देश्यअनुसार अघि बढ्नसके मात्रै देश समृद्ध र सुन्दर बन्ने जिकिर गर्नुभयो । उहाँले बुद्धिजीविहरूले आफ्नो ज्ञान बाँडेर मुलुकलाई समृद्ध बनाउनसक्ने बताउनुभयो ।
एमालेले विगतमा कमजोरी गरेर अहिले आक्रमण भइरहेको भन्ने नसोच्न आग्रह गर्दै एमालेले लिएका सही अडान र हितमाथि आक्रमण भइरहेको बताउनुभयो । राष्ट्रिय हित, स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएका कारण एमालेमाथि आक्रमण भएको बताउनु भयो । नेपालका कुनै पार्टीहरू एमालेको जस्तो उचाईमा पुग्न नसक्ने दाबी गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘‘यतिबेला हामीले सही पोलिटिक्स, नेकपा एमालेको सही पोलिटिक्सको स्केलेटनमा विज्ञताको मांशपेसी भर्नसके मात्रै समृद्धिको सुन्दर तस्बिर बनाउन सकिन्छ । देशलाई समृद्ध बनाउनको लागि यो चिजको आवश्यकता छ । तपाईंहरूले आफ्नो बौद्धिकता प्रयोग गरेर यस हिसाबको भुमिका खेल्नुपर्छ । एमालेमाथि अहिले हमला भइरहेको छ । एमालेले पनि कहीँ न कहीँ कमजोरी, गल्ती गरेर यस्तो भयो भन्नुहुन्छ । एमालेमाथि हमलाका कारण चार वटा छन् । एमाले राष्ट्रिय हित, स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएको छ । नेपालका कुनै पार्टीहरू एमालेको यो उचाईमा पुग्न सक्दैनन्, यो हाम्रो दाबी हो ।’’
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको परिवर्तन रुस र चीनको जस्तो नभएको र नेपालको परिवर्तन नेपाली विशेषताको परिवर्तन भएको बताउनुभयो ।