• १९ जेठ २०८२, सोमबार

लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको उत्तरदायित्व : प्रधानमन्त्री

blog

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ १७ गते । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्नुहुँदै उहाँले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गर्नुभएको हो ।

“निरङ्कुश हुकुमी शासनकालमा यस्ता सङ्घ–सङ्गठन खुल्ने स्थिति थिएनन् । अहिले तपाईँहरू पेसागत र व्यवसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यही जेठ १५ गते हामीले गणतन्त्र दिवसको उत्सव मनायौँ । राजतन्त्र पक्षधरहरूले विरोध प्रदर्शन गरे । उनीहरूलाई जनमत सङ्ग्रह भएको लाग्यो रे । तर पहिलो दिन दान (पैसा) दिएर केही मान्छे ल्याइए । दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गए । मेरो नातिले जिस्किएर म डाइनोसर भएँ भन्दै हा...गरेर डर लागेन ? भनेर खेलेको याद आयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले मलाई राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ, अब भयो, पुग्यो, चुप लागेर घरघरमा बसे हुन्छ । अब राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो । अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज । घोडाले लात्ताले हान्न सक्छ, होस् गर ।”


प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो ? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गर्नुभयो ।

“दरबार हत्याकाण्डपछि कुशको बाहुनजस्तो नक्कली राजतन्त्र आयो । त्यसले झन् निरकुङ्शता लाद्यो । जनताको अधिकार खोज्यो । विकास गरेन । देश लुटेर, संविधानभन्दा माथि बसेर पैत्रिक सम्पत्ति थुपार्यो । अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो ।”, प्रधानमन्त्री ओलीको भनाइ थियो, “यस्ताहरूले आफूलाई सूर्यका सन्तान भनेर जनतालाई कस्तो बेवकुफ बनाउन खोजिँदै छ । यस्ता कुराहरूसँग हामी सचेत हुनुपर्छ । यो जनताको सामाजिक उत्तरदायित्व हो । आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्छ । प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी  फेर्छौँ तर प्रतिगमन अब सम्भव छैन ।”


बिरामी भएमा उपचार गर्ने त छँदै छ, त्योभन्दा पहिला बिरामी हुन नदिन लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सस्तो र सजिलोसँग कसरी राम्रो उपचार दिन सकिन्छ भन्ने भावना बोक्न आग्रह गर्नुभयो ।

चिकित्सा विज्ञान यो तहमा नपुगेको भए र अस्पताल नभएको भए आफ्नो बिसौँ वार्षिक पुण्यतिथि सकिइसकेको हुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रको महत्त्व मान्छेको आयुसँग रहेकाले स्वास्थ्यकर्मीलाई सचेत नागरिक भएकाले राष्ट्रिय दायित्वमा पनि लाग्न जोड दिनुभयो ।

“भगवानमा विश्वास गर्नेहरूको म चित्त दुखाउन चाहान्न तर मैले डाक्टर र नर्सहरूले कठिन स्थितिमा पनि बिरामी जादुमयी रूपमा मान्छेलाई बचाएको देखेको छु । त्यस कारण म त भन्छु, डक्टरर्स आर द ग्रेटर द्यान द गर्डस् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आज स्वास्थ्य क्षेत्रले असाधारण विकास गरेको छ । हामीले प्रतिरोधभन्दा अगाडि निरोधात्मक सचेतनामा लाग्नुर्छ । यस महासङ्घले भूमिका खेल्न सकोस् ।”